सिन्धुली । सिन्धुलीमा निर्माणाधिन आइसोलेसनको निर्माणका काम अन्तिम चरणमा पुगेको छ । बाग्मति प्रदेश सरकार, स्थानीय सरकार, विभिन्न संघसंस्था तथा नागरिकहरुको सहयोग तथा सक्रियतामा निर्माण भईरहेको आइसोलेसनको काम २२ दिनमा नब्बे प्रतिशत सकिएको आइसोलेसन निर्माण उपभोक्ता समितिका संयोजक अशोक श्रेष्ठले बताए ।

सहयोग जुट्ने क्रममा मंगलबार फिक्कल गाउँपालिकाले पाँच लाख, तुलसीभक्त कन्स्ट्रक्सन प्रा.लि.बालकुमारी भक्तपुर प्रवन्ध निर्देशक नवराज श्रेष्ठले एकलाख, नेपाल निजामती कर्मचारी युनियन (संघ) सिन्धुलीले ५२ हजार १५१, ने.क.पा.फिक्कल गाउँ कमिटी सिन्धुलीले २५ हजार, दिपक स्टोर्स क.न.पा.६ माडीबजारका दिपक अधिकारीले ११ हजार १११, सिन्धुली समाज दक्षिण कोरियाका अध्यक्ष नारायण चौलागाईले १० हजार, कृष्ण प्रसाद ढकाल, क.न.पा.५ गैयाटार सिन्धुलीबाट ५ हजार २ सय, नेकपा सुनकोशीका अध्यक्ष रोमनराज गिरी (अशोक) ले ५ हजार र नेपाल रेडक्रस सोसाईटीका प्रशासकीय अधिकृत यशोदा पोखरेलले ५ हजार ५५५ रुपैंया गरि ७ लाख १४ हजार १७ रुपैंया संकलन भएको छ । यस्तै मंगलबार कमलामाई मन्दिर व्यवस्थापन समिति माईस्थानले ५ टयाक्टर ढुंगा सहयोग गरेको श्रेष्ठले बताए ।
उनका अनुसार पचास वेडको आइसोलेसन निर्माणका लागि बाग्मति प्रदेश सभा सदस्य राजन दाहाल, प्रदीप कटुवाल, विनोद खड्का लगाएतका जनप्रतिनिधिहरु सहयोग जुटाउन लागि परेका छन भने नागरिकहरु स्वतः स्फूर्त श्रमदान समेत गरिरहेका छन ।
२५ दिनमा भवन निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य लिईएको भए पनि निरन्तर वर्षातका कारण काम केहि प्रभावित भएको उनले बताएका छन । उनका अनुसार २ वटा भवनको झ्याल ढोका हाल्ने काम लगाएतका फिनिसिङको काम बाँकी छ भने स्वास्थ्यकर्मीको भवन र सुरक्षाकर्मीको भवन निर्माणको काम बाँकी रहेको छ । उक्त काम असोजको पहिलो सातासम्म सकिने पनि श्रेष्ठले जानकारी दिएका छन ।
जिल्लाका सरोकारवाला तथा जिल्लाबासीको संयुक्त प्रयासमा भएको निर्माणको यो कामलाई नमुनाका रुपमा समेत लिईएको छ ।
भवन निर्माणका लागि सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले ९७ लाख रुपैंया सहयोग गरेको छ । उक्त भवन २ करोड ५४ लाख २४ हजार ४ सय ८७ रुपैंया लागतमा निर्माण भईरहेको छ । आइसोलेसन सञ्चालनका लागि इक्युपमेन्ट तथा वेड लगाएतका सामग्री जुटिरहेको छ । आइसोलेसन निर्माणका लागि कमलामाई नगरपालिका सिन्धुली र इन्जिनियर्स फोरम सिन्धुलीले प्राविधिक सहयोग गरेको छ ।





















