सिन्धुली । कारागार कार्यालय सिन्धुलीबाट विरामी भई थप उपचारका लागि केन्द्रीय कारागार पठाईएका ७१ वर्षका कैदीमा कोरोना संक्रमण पुष्टि भएको छ ।
कारागारमा कर्तव्य ज्यान मुद्दामा कैद भुक्तान गरिरहेका धनुषा जिल्ला फुलगावाका उनमा ज्वरो आएको र सिन्धुली अस्पतालमा ३ दिन उपचार गर्दा समेत निको नभए पछि थप उपचारका लागि केन्द्रीय कारागारमा सरुवा गरि पठाईएका उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।
सिन्धुली अस्पतालमा उपचारका क्रममा मुटु र लिभरमा समस्या देखिएको र अवस्था गम्भिर भए पछि साउन २६ गते काठमान्डौ रिफर गरिएको थियो ।
कारागार कार्यालय सिन्धुलीमा हाल २४९ जना कैदी बन्दी रहेका छन । जसमा ६ जना महिला रहेको कारागार कार्यालय सिन्धुलीले जनाएको छ । उनी २०७६ बैशाख १२ गते सिन्धुली कारागार आएका थिए । उनमा कसरी कोरोना संक्रमण भयो भन्ने श्रोत समेत खुलेको छैन ।
कोरोना आशंका गरिएका ती विरामीसँग प्रत्यक्ष संलग्न रहेका सुरक्षाकर्मीलाई क्वारेन्टाईनमा राखि परिक्षण समेत भईसकेको र अन्य कैदी बन्दीमा समेत हालसम्म कुनै लक्षण नदेखिएकाले परिक्षण गर्नु नपर्ने प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेले बताए ।
कैदी विरामी परि कोरोना आशंका भएदेखि नै कारागार कार्यालय सिन्धुलीले आफन्तसँगको भेटघाट समेत बन्द गरेको प्रजिअ पाण्डेले बताए ।




















