सिन्धुली । अर्थमन्त्री युवराज खतिवडाले बजेट कछुवा र वायुपंखि घोडा दुवै नभएको बताए । उनले राष्ट्रिय सभामा बजेट माथिको छलफलका क्रममा कांग्रेस सांसदहरुले उठाएको प्रश्नको जवाफ दिदै यस्तो बताएका हुन । शुक्रबार बजेटमाथिको छलफलका क्रममा उनले बजेटको आफ्नै गति, लक्ष भएको भन्दै त्यसमा पुग्ने गतिमा हिड्ने दावी गरे ।
उनले सरकारको गति ८ प्रतिशतको आर्थिक वृद्धि र ५ लाख रोजगारी श्रृजना भएको बताए । उनले बजेटबारे भ्रम रहेको भन्दै कुनै भ्रममा नपर्न आग्रह गरे । यो बजेट संघीय सरकारको बजेट भएकाले ७ सय ६१ सरकारलाई बजेट बाँडिएको बताए । खतिवडाले भने, ‘हामी चालु बर्षको बजेटलाई अर्को वर्षको बजेटसँग दाँजेर सानो भयो भनिराखेका छौँ ।’
स्थानीय तह र प्रदेशमा दिइएका अधिकारलाई विर्सेपछिको तुलना स्याउ र सुन्तलाको जस्तो भएको उनले बताए । उनले गतबर्ष ल्याइएको बजेटमा २ खर्बको स्रोत नभेटिएको समेत दावी गरे । उनले राजश्वको लक्ष्य महत्वकांक्षी भएको धारणाको समेत खण्डन गरे ।
सात सय ३० अर्ब राजश्व चालु बर्षको अनुमान छ’, खतिडाले भने, ‘अबको लक्ष्य ८ सय ३१ अर्ब छ, १४ प्रतिशतको राजश्वको वृद्धि ।’ उनले राजश्व र करको अधिकार प्रदेश र स्थानीय तहलाई दिएका कारण १ सय ५२ अर्बको स्रोत तल पुगेको बताए ।
२०४८ सालपछि पहिलोपटक राष्ट्रिय उद्योगलाइ संरक्षण दिने भनेर पहिलो पटक बजेटमा लेखिएको बताए । हिजो संरक्षण नपाएका उद्योगलाइ संरक्षण दिइरहेको पनि उनले दावी गरे ।



















