सिन्धुली । कमलामाई नगरपालिकाले सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गर्ने भएको छ । चालु आर्थिक वर्षबाटै सामाजिक सुरक्षा भत्ता बैकिङ प्रणालीबाट वितरण गरिने कमलामाई नगरपालिका सिन्धुलीले जनाएको छ ।
आर्थिक बर्ष २०७७÷०७८ को पहिलो चौमासिक देखि नै बैकिङ प्रणालीबाट भत्ता वितरण गरिने भएको हो । बैंकबाट भत्ता वितरणका लागि नगरपालिकाले जिल्लाका बैंकहरुसँग बुधबार सम्झौता गरेको छ ।

जसअनुसार वडा नं. १ र ६ का लाभग्राहिले ज्योति विकास बैंक, २ लाभग्राहिले प्रभु बैंक, ३ ले मुक्तिनाथ विकास बैंक, ४ का लाभग्राहिले मेगा बैंक, ५ का लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंक, ७ ले लक्ष्मी विकास बैंक, ८ का लाभग्राहिले सिद्धार्थ बैंक, ९ र १० का लाभग्राहिले मेगा बैंक भिमान शाखा, ११ का लाभग्राहिले ग्लोबल आईएमई बैंक, १२ का लाभग्राहिले कृषि विकास बैंक, १३ र १४ का लाभग्राहीले राष्ट्रिय वाणिज्य बैंक भिमानमा खाता खोल्नुपर्ने छ ।
खाता खोल्नका लागि बैंकसम्म आउन नसक्ने व्यक्तिका लागि भने वडा कार्यालयको समन्वयमा बैंकले खाता खोल्ने व्यवस्था मिलाउने गरि सहमति भएको कमलामाई नगरपालिकाका प्रमुख खड्ग खत्रीले बताए ।
कमलामाई नगरपालिकाले १४ वडाका ९ हजार ५ सय जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ ।



















