सिन्धुली । कृषि तथा पशुपंक्षी विकास मन्त्री घनश्याम भुसालले ‘संरक्षित कृषि, समुन्नत विकास’ को अवधारणाबाट कृषिको विकास गरिने बताए । सिन्धुलीमा पत्रकारहरुसँग कुरा गर्दै भुसालले किसानको बचतलाई सुनिश्चित गरि संरक्षित क्षेत्रका रुपमा कृषिलाई अगाडि बढाउने गरि मन्त्रालयले योजना बनाएको बताए ।

भुसालले मन्त्रालयले स्थानीय तहलाई कृषि उत्पादनमा सक्षम बनाउन सबै स्थानीय तहलाई उत्पादन, भण्डारण र बजार व्यवस्थापनमा सक्षम बनाईने बताएका छन ।
उनले भने, ‘विउ, मल, खाद्यान्न भण्डारण गर्न सक्ने गरि कोल्डस्टोर, नर्सरी, कृषि सेवा केन्द्र, पशु सेवा केन्द्र बनाई पालिकाहरुलाई क्षमतावान बनाउने लक्ष्य मन्त्रालयले लिएको छ ।’ जसका लागि ५ अर्व ४४ करोड बजेट विनियोजन गरि पालिकाहरुमा पठाईएको छ, उनले थपे ।
पत्रकार सम्मेलनमा बोल्दै मन्त्री भुसालले कृषि सेलका रुपमा स्थानीय तहलाई विकास गरिने बताए । भुसालले कोरोनाका कारण तरकारी विक्री वितरण, पशुपालन, दुग्ध व्यवसाय र कुखुरा पालन व्यवसायले समस्या भोगेको बताउँदै राहतको व्यवस्था गरिने बताए ।
सहलबाट सतर्क र सचेत रहन आग्रह
मन्त्री भुसालले सहल किराले नेपालमा प्रवेश गरिसकेको बताउँदै उक्त किराबाट बाली नाली जोगाउन सबै नागरिकहरुले सचेत, सतर्क रहन र नआत्तिन आग्रह गरेका छन । उनले प्रदेश सरकार र स्थानीय सरकारहरुलाई पनि सहलबाट किसानलाई पुग्ने क्षतिलाई कम गर्न काम गर्न समेत आग्रह गरे । उनले सलह नियन्त्रणमा बजेट पुगेन भने मन्त्रालयले बजेटको व्यवस्था गर्ने समेत बताएका छन ।
उनले सहल नेपालका सर्लाहि देखि कपिलवस्तुसम्मको तराईको भुभागमा पुगिसकेको, पाल्पा, सिन्धुली लगाएतका जिल्लाबाट उत्तर तर्फ समेत लागेकाले यसबाट जोगिने र नियन्त्रणको उपायहरु अपनाउन आग्रह गरेका छन । ‘सहलको क्षतीको एकीन कति हुने ? त्यसको भने आँकलन भने नभईसकेको’ उनले बताए ।
सहल नियन्त्रणमा तीनै तहको तयारी कम भएको पनि उनले बताए । कोरोना नियन्त्रणमा लागेका कारण सहल तिर प्रदेश तथा स्थानीय सरकारले ध्यान दिन नसकेको पनि मन्त्री भुसालले बताएका छन ।
यस्तै उनले कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले अनुदानलाई निरुत्साहित गर्दै लगेको र व्यक्तिलाई लगानी गर्न छोडेको बताए । उनले समूहमा कृषि गर्ने किसानलाई मल विउ पानी र विजुलीमा मन्त्रालयले लगानी गर्ने समेत बताएका छन । उनले युवाहरुलाई संकल्प गरि कृषि कर्ममा आउन समेत आग्रह गरे । पत्रकारहरुसँग कुरा गर्दै मन्त्री भुसालले कोरोनाको संकटमा किसानले मलको अभाव भोगेको र आपूर्तिमा समेत समसस्या आएको बताए ।




















