सिन्धुली । जिल्लाको कमलामाई नगरपालिका सिन्धुलीले सलह जम्मा गरि ल्याउने व्यक्तिलाई प्रति किलो ३० रुपैंया दिने भएको छ । नगरपालिकाका १४ वटा वडा कार्यालयहरुले उक्त सलह खरिद गर्नेछन ।

सहल नगर क्षेत्रमा प्रवेश गरि किसानका बालीनाली क्षती गर्न थाले पछि समितिको आकस्मिक बैठक बसी उक्त निर्णय गरिएको कमलामाई नगरपालिकाका अधिकृत सागर कुमार ढकालले बताए ।
सलह खरिदको जिम्मा वडा कार्यालयलाई दिईएको छ । नगरपालिकाले स्थानीयहरुलाई नै सहल संकलनका लागि प्रोत्साहन गर्न उक्त निर्णय गरेको ढकालले बताए ।
यस्तै बैठकले सलह नियन्त्रणका लागि स्थानीय उपायहरु अवलम्बन गर्ने निर्णय गरेको छ । बैठकमा सलहको संक्रमण क्षेत्र र प्रसारको अवस्थाका बारेमा समेत छलफल गरिएको छ ।
सलहले कमलामाई नगरपालिकाको वडा नं. ९, १०, २, ४, ५, ६ मा क्षती गर्न सुरु गरेको छ । तथापी सलह सानो झुण्डमा भएकाले धेरै ठूलो नोक्सानी भने नगरिसकेको कमलामाई नगरपालिकाले जनाएको छ ।
भारतको बिहार हुँदै शनिबार नेपालका रूपन्देही, बारा, पर्सा, सर्लाहीमा प्रवेश गरेको सलह कीरा बारा, पर्सा, सर्लाही, मकवानपुर, चितवन, सिन्धुली, काभ्रे, रूपन्देही, नवलपरासी, कास्की, पाल्पा, लमजुङ, गोरखा लगायतका जिल्लामा फैलिईसकेको प्लान्ट क्वारेन्टाइन तथा विषादी व्यवस्थापन केन्द्रका प्रमुख सहदेव हुमागाईंले बताए ।




















