सिन्धुली । गोलञ्जोर गाउँपालिकाका सबै वडाका अपांगता भएका व्यक्तिलाई शुक्रबार सहयोग सामग्री वितरण गरिएको छ । गोलञ्जोर गाउँपालिकाको सहयोगमा सिन्धुली अपांग महिला संघ सिन्धुलीले ग्वालटारमा उक्त सामग्री वितरण गरेको हो ।

सामग्री वितरण गर्दै गाउँपालिका अध्यक्ष पुष्प बहादुर कार्कीले फरक क्षमताका व्यक्तिको जीवन सहज बनाउन गाउँपालिकाले सक्दो सहयोग गर्ने बताए । उनले अपांगता भएका व्यक्तिको जीविकोपार्जनका लागि गाउँपालिकाले आगामी वर्षमा काम गर्ने गरि योजना बनाएको जनाएको छ । उनले भने, ‘अपांगता भएका व्यक्तिहरुको खुशी नै गाउँपालिकाको खुशी हो । सक्दो सहयोग गर्छौं ।’
कार्यक्रममा बोल्दै सहयोग सामग्रीका जानकार व्यक्ति रमेश निरौलाले अपांगता भएका व्यक्तिले अपांगता अनुसारका सामग्री प्रयोग गर्न सुझाव दिए । उनले सहयोग सामग्री प्राप्त गर्ने व्यक्तिहरुलाई प्रयोग बारे जानकारी समेत दिदै सहि तरिकाले अपांगताको प्रकृति अनुसारको सामग्री प्रयोग नगरे थप अपांगताको जोखिम हुने समेत बताए ।
बाग्मति प्रदेशको ३ लाख बजेटमा संघले गाउँपालिकासँगको साझेदारीमा वडाले छानेका व्यक्तिलाई उक्त सामग्री वितरण गरेको हो ।




















