सिन्धुली । सार्वजनिक जग्गामा शहरीकरण, हाट बजारको व्यवस्थापन, विकासका काम, पर्यटन प्रवद्र्धन लगाएतको जिम्मा उद्योग वाण्ज्यि संघले पाउनुपर्ने सुझाव सहित सिन्धुली उद्योग वाणिज्य संघ सिन्धुलीले आगामी वर्षको लागि नीति तथा कार्यक्रम नीजि क्षेत्र अनुकुल बनाउन सुझाव सहित कमलामाई नगरपालिकासँग छलफल गरेको छ ।

जसमा व्यवसायीक कर र घर बहाल कर छुट, कोरोना संकटको बेलामा सरकारले तोकेको घर बहाल कर छुट दिन, नगरका मुख्य शहरी क्षेत्रमा टेलिफोन, विद्युत, केवल तथा अन्य सेवाका तारहरुलाई व्यवस्थित गर्न, हरेक बजार क्षेत्रमा पार्किङको व्यवस्था गर्न तथा पैदल यात्रुका लागि पेटी निर्माणका लागि नगरपालिकासँग समन्वय गरि उवासंघले गर्ने उल्लेख गरिएको छ ।
जसमा संघले सार्वजनिक ऐलानी जग्गा नीजि क्षेत्रलाई दिई बजार विस्तार एवम् शहर उन्मुख बनाउन नीजि क्षेत्रसँग समन्वय गर्न नगरपालिकासँग पहल गरिने उल्लेख गरिएको छ । यस्तै उद्योग वाणिज्य संघले दिएको सुझावमा माढी बजार नजिक रहेको जनता हाटबजारलाई व्यवस्थित गर्न नीजि क्षेत्रलाई जिम्मा दिइनुपर्ने र त्यसको पहल उद्योण वाणिज्य संघले गर्ने उल्लेख गरिएको छ । त्यस्तै जिल्ला भित्रिने पोके व्यवसायीलाई निरुत्साहित गर्न नगरपालिकासँग समन्वय गरि प्रवेशमा निशेध गरिनुपर्ने उल्लेख गरिएको छ ।
संघले दिएको लिखित सुझावमा थ्रिपीको अवधारणामा सिन्धुलीगढीमा रिसोर्ट निर्माण, सुविधा सम्पन्न सभाहल निर्माण र सपिङ महल निर्माणका लागि समन्वय गर्ने नीतिका बारेमा नगरपालिकासँग समन्वय गर्ने उल्लेख गरेको छ । यस्तै सबै बजार क्षेत्रमा व्यवसायी तथा नागरिकको सुरक्षालाई ध्यानमा राखि सिसिटिभि जडान गर्ने, सिन्धुलीगढी, कमलामाई, कालिमाई, सिद्धवावा, भद्रकाली मन्दिर तथा गुम्बाहरु जस्ता ऐतिहासिक, पुरातात्विक, धार्मिक महत्वका स्थानहरुको गुरुयोजना बनाई कार्यान्वयनमा लाने, नगरको विकासका लागि कृषि, पर्यटन, होमस्टे, कोेशेली घर, शिक्षा, स्वास्थ्यलाई प्राथमिकतामा राखि महोत्सवको आयोजना गर्ने, कृषिमा आधुनिकीकरण गर्नुपर्ने, दुधमा आत्मनिर्भर बनाउन गाई भैसी पालनलाई प्राथमिकता दिनुपर्ने, नगरलाई मासुमा आत्मनिर्भर बनाउन पशुपंछी पालन तथा माछापालनमा जोड दिनुपर्ने, प्रत्येक वडामा अध्ययन गरि व्यवसायीक पकेट क्षेत्र बनाउनुपर्ने, औधोगिक क्षेत्र निर्माणका लागि सम्भाव्यता अध्ययन गर्ने, एकमात्र जुस उद्योग सञ्चालनका लागि पहल गर्ने, घरेलु तथा साना उद्योगलाई व्यवस्थित गरि लगानी भित्राउन लगानी सम्मेलन गर्ने लगाएतका कार्यक्रम ल्याउन नगरपालिकालाई सुझाव दिएका छन । संघले यस्ता कार्यमा उद्योण वाणिज्य संघसँग समन्वय गर्नुपर्ने सुझाव दिएको छ ।




















