सिन्धुली । कमलामाई नगरपालिकाको “एक वडा एक उत्पादन” कार्यक्रम अन्तर्गत कमलामाई नगरपालिका वडा नंं. ९ का किसानलाई लिचिको विरुवा वितरण गरिएको छ । कमलामाई नगरपालिकाको ८० प्रतिशत अनुदान र किसानको २० प्रतिशत लगानीमा ८ सय विरुवा वितरण गरिएको हो ।
स्थानीय शसक्त महिला कृषि सहकारी संस्था मार्फत लिचिको विरुवा वितरण गरिएको कमलामाई नगरपालिकाका कृषि शाखाका देव सापकोटाले बताए । कमलामाई नगरपालिकाका उपमेयर मञ्जु देवकोटा तथा कनपा ९ का वडा अध्यक्ष देवराज पौडेलले किसानलाई लिचिको विरुवा वितरण गरेका थिए ।

उनले आगामी बजेटमा पनि कृषि र रोजगारीलाई प्राथमिकता दिई बजेट ल्याउने तयारी रहेको बताईन । नगरपालिकाको कृषि समितिको संयोजक समेत रहेकी देवकोटाले सामुदायिक क्षेत्र, बाँझो जमिनमा लिचि रोपी सामुहिक आयआर्जनको काम गरिने समेत बताएकी छिन ।
सहकारीका अध्यक्ष मेनुका सुवेदीको अध्यक्षतामा भएको कार्यक्रममा वडा अध्यक्ष देवराज पौडेलले लिचि रोपेका किसानलाई आवश्यक पर्ने मलखाद सिंचाई र बजारीकरणमा वडाले सक्दो सहयोग गर्ने बताए ।
उक्त वडामा नगरपालिकाले ७१ हजार ४ सय रुपैंया लगानी गरि करिब ४० जना सहकारीमा आवद्ध किसानलाई लिचिको विरुवा वितरण गरिएको नगरपालिकाको कृषि शाखाका देव सापकोटाले बताए ।





















