सिन्धुली । जिल्लामा एकजनामा कोरोना भाइरस संक्रमण भएको पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालय वाग्मति प्रदेशले बुधबार उक्त पुष्टि गरेको हो ।
कमलामाई नगरपालिका वडा नं. १४ चन्दनपुरका २३ वर्षिय पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए । संक्रमित व्यक्ति भारतबाट आई चन्दनपुर माविको क्वारेन्टाईनमा बस्दै आएका थिए ।
उनी सहित जिल्लाका ६९ जनाको प्रतिवेदन आएको छ । पहिले ५१ जना र पछि ७१ जना गरि १२२ जनाको नमुना पठाईएकोमा ६९ जनाको परिक्षण सकिएको पनि मन्त्रालयले जनाएको छ । ती मध्ये ६८ जनाको नतिजा नेगेटिभ आएको छ ।
संक्रमितलाई सिन्धुली अस्पतालको आईसोलेसनमा भर्नाका लागि ल्याउने तयारी भईरहेको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख शाहले बताए । संक्रमितमा कोरोना भाईरसको कुनै लक्षण नदेखिएको उनले बताए । सिन्धुलीको यो पहिलो संक्रमण हो । यसअघि सिन्धुलीको ठेगाना भई काठमान्डौमा बस्ने एक २७ वर्षिय महिलामा कोरोना संक्रमण देखिएको थियो ।




















