सिन्धुली । जिल्लामा ३२ हजार ३ सय ५९ जनाले राहत पाएका छन । असंगठित क्षेत्रमा काम गर्ने मजदुरहरु, अति विपन्न, अशक्त तथा खाद्य संकटमा परेका नागरिकलाई जिल्लाका ९ वटै स्थानीय तहले राहत वितरण गरेका हुन ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीका अनुसार कमलामाई नगरपालिकामा ८ हजार ५२, दुधौली नगरपालिकामा ७ हजार ९९ परिवारले राहत पाएका छन ।
यस्तै मरिण गाउँपालिकामा ६ हजार १ सय १, हरिहरपुरगढी गाउँपालिकामा ८ सय ६७, फिक्कल गाउँपालिकामा १ हजार ५ सय ७९, तिनपाटन गाउँपालिकामा २ हजार ८ सय ९२, घ्याङलेख गाउँपालिकामा ७ सय ६, सुनकोशी गाउँपालिकामा २ हजार ४ सय ८४ र गोलञ्जोर गाउँपालिकामा २ हजार ५ सय ७९ जनालाई राहत वितरण गरिएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी उपेन्द्र न्यौपानेले बताए ।
उनका अनुसार जिल्लाका ७ वटा स्थानीय तहले वडाबाट छनौट भएका गरिब तथा अतिविपन्न, मजदुर र खाद्य संकटमा परेका नागरिकलाई खाद्यान्न राहत वितरण गरेका हुन हो । यस्तै सुनकोशी गाउँपालिका र मरिण गाउँपालिकाले भने कामका लागि राहत दिन सुरु गरेका छन । दुवै गाउँपालिकाले खाद्यान्न राहत लिनका लागि पालिकाको विकासका काममा श्रम गर्नुपर्ने र सो बापतको ज्याला बराबरको पारिश्रमिक दिने व्यवस्था मिलाएका छन ।
कार्यालयका अनुसार जिल्लामा क्वारेन्टाईनको वेड संख्या पनि थपिदो छ । हालसम्म जिल्लामा ४ सय २० वेडको क्वारेन्टाईन निर्माण भईसकेको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सूचना अधिकारी न्यौपानेले बताए ।





















