सिन्धुली । कमलामाई नगरपालिका भित्रका विभिन्न क्वारेन्टाईनमा बसेकाहरुको थ्रोट स्वाव संकलन गरिएको छ । भारतबाट आई कमलामाई नगरपालिकाका वडाहरु ६, ८, ९, १०, १३ र १४ मा रहेका विभिन्न क्वारेन्टाईनमा बसेका १ सय १५ जनाको स्वाव संकलन गरिएको हो । आइतबार र सोमबार गरि क्वारेन्टाईनमा बसेका व्यक्तिहरुको स्वाव संकलन गरिएको हो ।

यस्तै सोमबार कमलामाई नगरपालिकाको वडा नं. ८, ९ र १० मा रहेका क्वारेन्टाईनमा रहेका २० जना र कमलामाई नगरपालिका वडा नं. ६ सिन्धुलीमाढीको क्वारेन्टाईनमा रहेका ४४ जना गरि ६४ जनाको थ्रोट स्वाव (नमुना) संकलन गरिएको स्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र कुमार शाहले बताए ।
कमलामाई नगरपालिकाले स्वाव संकलन किट्स (भिटिएम) खरिद गरि स्वास्थ्य कार्यालय सिन्धुली र नगरपालिकाको स्वास्थ्य शाखाको समन्वयमा भारतबाट आएका तथा संक्रमित क्षेत्रबाट आई क्वारेन्टाईनमा बसेका नागरिकको स्वाव संकलन गरिएको नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केम थापाले बताए ।
उनका अनुसार हालसम्म नगरपालिकाको क्वारेन्टाईनमा रहेका सबैको स्वाव संकलन भएको छ । थापाका अनुसार नगरपालिकाले २ सय भिटिएम किट्स खरिद गरेपछि रोकिएको नमुना संकलनको काम अगाडि बढेको हो । अन्य स्थानीय तहमा क्वारेन्टाईनमा रहेकाहरुको स्वाव संकलन भने भिटिएमको अभावका कारण हुन सकेको छैन ।




















