सिन्धुली । सिन्धुलीमा क्रियाशिल ७ दलले कोरोना भाईरसको संक्रमणको अवस्थामा स्थानीय तह तथा विभिन्न संघसंस्थाले बाँडेको राहतमा अत्यधिक अनियमितता भएको, दैनिक उपभोग्य सामान तथा निर्माण सामग्रीमा अत्यधिक मुल्य वृद्धि भएको लगाएतका विषयमा सिन्धुलीका प्रमुख जिल्ला अधिकारी योगेन्द्र प्रसाद पाण्डेको ध्यानाकर्षण गराएका छन ।

नेपाली कांगे्रसका सभापति उज्ज्वल बरालको नेतृत्वमा उक्त ध्यानाकर्षण पत्र बुझाईएको हो । ध्यानाकर्षण पत्रमा प्लान नेपालको साझेदारीमा विभिन्न संघसंस्थाले वितरण गरेको राहत वितरणमा व्यापक अनियमितता गरि सामाजिक विभेद समेत गरिएको र कमलामाई नगरपालिका लगाएत जिल्लाका ९ वटै स्थानीय तहमा वितरण गरिएको राहतमा अनियमितता भएकाले छानविन गर्न ती दलले माग गरेका छन ।
लकडाउनमा दैनिक उपभोग्य सामानमा मुल्य वृद्धि भएकाले मुल्यमा एकरुपता ल्याउन, लकडाउनमा सरकारी गाडीको दुरुपयोग भएकाले छानविन गर्न समेत उनीहरुले माग गर्दै ध्यानाकर्षण गरेका छन ।
ती दलले जिल्लाका सबै घरका कम्तिमा एकजनाको पिसिआर विधिबाट कोरोना जाँच गर्न, आईसोलेसन वार्ड प्रयाप्त व्यवस्थापन गर्न, क्वारेन्टाईनलाई व्यवस्थित गर्न, क्वारेन्टाईनमा भएका नागरिकको नियमित स्वास्थ्य परिक्षण गर्न, सबै स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीलाई काममा खट्दा पिपिई उपलब्ध गराउन, कृषकलाई तुरुन्त मल विउ उपलब्ध गराउन, स्थानीय बजारहरु दैनिक २ घण्टा खोल्ने व्यवस्था गर्न, भुकम्पपीडितले पाउने नियमित किस्ता तुरुन्त उपलब्ध गराउन, जिल्ला दररेट कायम गर्न समेत ध्यानाकर्षण गराएका छन ।
उनीहरुले लकडाउनका बेलामा सबै वित्तिय संस्थाबाट व्यवसायी र जनताले लिएको ऋणको व्याज मिनाहा गर्न, जनतालाई लगाउँदै आएका सबै कर मिनाहा गर्न, जिल्ला अस्पताल र स्वास्थ्य कार्यालयले खरिद गरेका स्वास्थ्य सामग्री तथा विभिन्न खर्च सार्वजनिक गर्न समेत दलहरुले प्रमुख जिल्ला अधिकारीको ध्यानाकर्षण गराएका हुन ।



















