सिन्धुली । कमलामाई नगरपालिकाले नगरभित्रका सामुदायिक विद्यालयका शिक्षक तथा कर्मचारीको तलब कट्टा गर्ने निर्णय गरेको छ । नगरपालिकाको शिक्षा समितिको शनिबार बसेको बैठकले तलब कट्टा गरि कमलामाई नगरपालिकाको नगर प्रकोप व्यवस्थापन कोषमा जम्मा गर्ने निर्णय गरेको हो ।
कमलामाई नगरपालिकाका प्रमुख एवम् शिक्षा समितिका संयोजक खड्ग खत्रीको अध्यक्षतामा बसेको बैठकले अधिकृत स्तर र सो भन्दा माथिको तलब खाने शिक्षकहरुको ६ दिन र अधिकृत भन्दा तल्लो तहका शिक्षक, विद्यालय कर्मचारी, बालविकास सहजकर्ताको ४ दिनको तलब काट्ने निर्णय गरेको हो ।
कोरोना भाइरस संक्रमणको व्यवस्थापनका लागि नगरपालिकाले बनाएको कोषमा उक्त रकम जम्मा गरिने छ र कोरोनाको उपचार, रोकथाम तथा राहतमा उक्त रकम खर्च गरिने छ ।
कमलामाई नगरपालिकामा ९८ सामुदायिक विद्यालय छन । ति विद्यालयमा ५ सय ४२ शिक्षक, ८५ जना बालविकास सहजकर्ता, २५ जना लेखा सहायक र १ सय जना विद्यालय सहयोगी कार्यरत रहेको नगरपालिकाको शिक्षा शाखा प्रमुख शंकरराज लुईंटेलले बताए । उनका अनुसार शिक्षक तथा विद्यालय कर्मचारीहरुबाट नगर प्रकोप व्यवस्थापन कोषमा करिब ६ लाख रकम जम्मा हुने भएको छ ।





















