सिन्धुली/कोभिड–१९ को तयारीमा जिल्लाका स्थानीय तहहरुको सक्रियता देखिए पनि जिल्लामा मेडिकल सामग्रीको भने कमी देखिएको छ । जिल्लाका स्थानीय तहहरुमा जम्मा २४३ थान पिपिई र २५ थान गाउन मात्र रहेको पाईएको छ । जिल्ला विपद व्यवस्थापन समितिले बुधबार सार्वजनिक गरेको तथ्यांकले जिल्लामा मेडिकल सामग्रीको स्टक कम रहेको जनाएको हो । सरकारी निकाय, स्थानीय सरकार र विभिन्न संघसंस्थाहरुले सहयोग गरेका सबै सामग्री हेर्दा जिल्लामा मेडिकल सामग्रीको अभाव देखिएको हो ।

यस्तै नेपाल रेडक्रस सोसाईटी सिन्धुलीले क्वारेन्टाईन निर्माणका लागि आवश्यक सामग्रीहरु उपलब्ध गराएको छ । रेडक्रसले २ वटा नगरपालिकामा ५० थानका दरले र ७ वटा गाउँपालिकामा २५ थानका दरले विभिन्न सामग्रीहरु हस्तान्तरण गरेको छ । रेडक्रसले व्ल्यांकेट, पि फर्म, तौलिया, साबुन, बाल्टिन, झुल, टुथब्रस, पेष्ट लगाएतमा सामग्री सहयोग गरेको छ ।
यसैगरि स्थानीय तहहरुले कोष स्थापना गरि नागरिकहरुलाई राहत उपलब्ध गराउने, विदेशबाट आउनेको तथ्यांक राख्ने, उनीहरुको स्वास्थ्य परिक्षण गर्ने लगाएतका कामहरुलाई अगाडि बढाएका छन । कमलामाई नगरपालिका, दुधौली नगरपालिका, मरिण गाउँपालिका, फिक्कल गाउँपालिका लगाएतले कोष स्थापना गरि काम अगाडि बढाएका छन ।
चार वटा स्थानीय तहले गरिव, मजदुरहरुको तथ्यांक संकलनका कामलाई समेत अगाडि बढाएका छन भने दुधौली र कमलामाई नगरपालिकाले अग्रिम सामाजिक सुरक्षा भत्ता वितरण सुरु समेत गरेका छन ।
विपी राजमार्ग र मध्यपहाडी राजमार्गमा पर्ने स्थानीय तहहरु सुनकोशी, गोलञ्जोर, फिक्कल र कमलामाई नगरपालिकाले आपतमा परेका पैदल यात्रुहरुलाई खाना, पानी र यातायातको व्यवस्था गरि गन्तव्यसम्म पु¥याउन सहयोग समेत गरिरहेका छन । अधिकांश स्थानीय तहले अत्यावश्यक औषधिहरु मातहतका स्वास्थ्य संस्थामा पु¥याउने काम समेत गरिरहेका छन ।
विदेशबाट आउने २०७ जना
सिन्धुलीमा विदेशबाट आउनेको संख्या २०७ रहेको छ । जिल्लाका ९ वटै स्थानीय तहले खोजी गरेको तथ्यांक अनुसार भारतबाट आउने १०७ र तेस्रो मुलुकबाट आउनेको संख्या १ सय रहेको जिल्ला विपद व्यवस्थापन समिति सिन्धुलीले जनाएको छ । विदेशबाट आउनेमा सबैभन्दा बढी दुधौली नगरपालिकामा ४२ जना रहेका छन । यस्तै कमलामाई नगरपालिकामा ४०, मरिण गाउँपालिकामा ३५, हरिहरपुरगढी गाउँपालिकामा २९, फिक्कल गाउँपालिकामा १६, सुनकोशी गाउँपालिकामा १९, घ्याङलेख गाउँपालिकामा ९, तिनपाटन गाउँपालिकामा ९ र गोलञ्जोर गाउँपालिकामा ८ जना रहेको समितिले जनाएको छ । उनीहरुलाई स्थानीय तहले स्वास्थ्य परिक्षण तथा निगरानीको काम गरिरहेका छन ।
यस्तै सिन्धुलीमा हालसम्म ७ जना आइसोलेसनमा भर्ना भएका छन भने ११ जना क्वारेन्टाईनमा बसेका छन । आईसोलेसनमा भर्ना भएका सबैको स्वाव परिक्षण भईसकेको छ भने सबैको कोरोना संक्रमण प्रतिवेदन नेगेटिभ आएको छ । हालसम्म जिल्लामा ३३ वटा आइसोलेसन र २१० वटा क्वारेन्टाईन वेड तयारी अवस्थामा राखिएको छ ।
थर्मल गनकै अभाव
सिन्धुलीमा ज्वरो नाप्ने थर्मल गनकै अभाव भएको छ । स्थानीय तहहरुले थर्मल गन नै नपाएको गुनासो गरेका छन । विपद व्यवस्थापन समितिले पनि केहि हेल्थ डेक्समा थर्मल गन भएको भए पनि सबै हेल्थ डेक्स तथा स्वास्थ्य संस्थाले किन्न समेत नपाएको जनाएको छ ।
सिन्धुलीका क्वारेन्टाईनमा स्वास्थ्य जाँच गर्न समेत थर्मल गन पाइएको छैन । स्थानीय स्वास्थ्य संस्थाहरुले उपलब्ध भएसम्म थर्मल गन प्रयोग गरेका तर सबै नभएको पाईएको जिल्ला प्रशासन कार्यालय सिन्धुलीका सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाईंले बताईन । उनका अनुसार जिल्लाका सबै स्वास्थ्य संस्थाले हेल्थ डेक्स सञ्चालन गरि ज्वरो जाँच भने गरिरहेको अनुगमनका क्रममा पाईएको बताईन । उनले केहि स्थानीय तहले १८ हजारसम्म हालेर केहि थान थर्मल गन ल्याएको भए पनि किन्न समेत नेपाली बजारमा नपाईएको बताईन ।
स्वास्थ्य कार्यालय सिन्धुली, नेपाल रेडक्रस सोसाईटी लगाएत धेरै निकायहरुलाई थर्मल गन ल्याउन समन्वय गरिएको भए पनि बजारमै उपलब्ध नहुदा समस्या भएको उनले बताईन ।




















