सिन्धुली । कमलामाई नगरकापलिकाले कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्ने क्रममा सरकारले गरेको लकडाउनका कारण समस्यामा परेकालाई राहत वितरण गर्नका लागि मापदण्ड बनाएको छ । कमलामाई नगरपालिकाका प्रमुख तथा स्थानीय विपद ब्यवस्थापन निर्देशक तथा समन्वय समितीका संयोजक खड्गबहादुर खत्रीको संयोजकत्वमा बुधबार सिन्धुलीमाढीमा बसेको बैठकले मापदण्ड बनाएको हो ।
नगरपालिकाले बनाएको मापदण्ड अनुसार तलब पेन्सन प्राप्त नगर्ने घर परिवार, सामाजिक सुरक्षा प्राप्त नगर्ने घर परिवार (दलित वालवालिका वाहेक), खेतियोग्य जमिन नभएका र आर्थिक आय नभएका घरपरिवार र वैदेशिक रोजगारीमा संलग्न नभएको घर परिवारलाई मात्र राहत प्रदान गरिने भएको छ ।
नगरपालिकाका सूचना अधिकारी सागर ढकालका अनुसार यसअघि अतिविपन्न घर परिवारलाई राहत वितरण गर्दै आएको नगरपालिकाले राहत वितरणलाई थप प्रभावकारी बनाउन मापदण्ड बनाएको हो । उक्त मापदण्ड अनुसारको विवरणमा घरमुलीको नाम र उसको परिवार सदस्य संख्या अनिवार्य उल्लेख हुनु पर्ने र नामावली विवरणमा वडा सचिवको दस्तखत र वडाको छाप अनिवार्य हुनुपर्नेछ ।
हालसम्म कमलामाईले ७५ अति विपन्न परिवारलाई राहत उपलब्ध गराएको छ । उनीहरुलाई २० के.जी. चामल, ३ के.जी. दाल, १ के.जी. चिनि, २ के.जी. आलु, ५० ग्राम बेसार, १ लिटर तेल र १ के.जी. नुन उपलब्ध गराएको कमलामाई नगरपालिकाले जनाएको छ । राहत पाउनेमा सबैभन्दा बढी ६७ जना गिट्टी कुट्ने मजदुरहरु रहेका छन ।
यस्तै बैठकले कोभिड–१९ को संक्रमण अन्तरगत स्थापित आइसोलेसन सेन्टरमा अग्रपंक्तीमा काम गर्ने डक्टर तथा स्वास्थ्य कर्मिहरुलाई प्रोत्साहन स्वरुप तीन लाख उपलब्ध गराउने निर्णय गरेको छ । उपलब्ध प्रोत्साहन रकमलाई अस्पताल प्रशासनको सिफारिस र अस्पताल व्यवस्थापन समितीको निर्णयको आधारमा सम्वन्धित डाक्टरर स्वास्थ्यकर्मीको वैक खातामा उपलब्ध गराउने निर्णय समेत भएको छ ।





















