
प्रहरी उपरीक्षक
जिल्ला प्रहरी कार्यालय, सिन्धुली ।
नमस्कार, आरामै हुनुहुन्छ होला । पहिलो पटक जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा प्रहरी प्रमुखमा महिला पाएकोमा म असाध्यै खुशी छु । चिनजान नै नभएको मान्छेले के पठायो यो ? भन्ने पनि लाग्यो होला । हुन पनि हो, तपाईसँग मेरो भेटघाट हुन नै पाएको छैन । सिन्धुलीकै भए पनि कामको शिलशिलामा जिल्ला बाहिर छु । गृह जिल्ला पुगेका बेला तपाईलाई भेट्ने ठूलो धोको छ । समय मिलाएर अवश्य आउने नै छु पनि ।
त्यस अघि एसपि साहेबसँग केहि समय देखिको मनको भारी बिसाउन कि भन्ने लाग्यो । ढुक्क छु मेरो मनको भारीलाई तपाईले हलुका बनाई दिनु हुनेछ । त्यसैका लागि भेट भन्दा अघि एउटा पत्र पठाएको छु ।
सार्वजनिक सवारी प्रयोग गर्नेहरुको भिडमा म पनि पर्छु । करिब २१ दिनअघि सिन्धुलीको शान्तिनगर चोकमा म ईटहरीसम्म जाने गाडीको प्रतिक्षामा थिएँ । माघे संक्रान्तिको अघिल्लो दिन भएकाले होला, मैले हात दिएका २४ वटा माईक्रोमा सिटोटेम थिएन । मलाई सडकमा अलपत्र छोडेर अघि बढेका गाडीलाई पछाडिबाट हेर्नुको बिकल्प मसँग भएन । २४ वटा माईक्रोलाई रोक्न हात दिने क्रममा १४ वटा माईक्रोका पछाडि एक्कै खाले सायरी देखे । लेखिएको थियो, “घरमा बसौं आर्थिक चाप, विदेश जाउँ स्वास्नी टाप ।” “ फरक्क फर्कि नहेर कान्छि हरनको तालैमा, ड्राईभरको जात बेईमानी हुन्छन् मोई खालान् गालैमा”
यदि म गलत भए क्षमा पाउँ, तर यो सरासर महिला माथिको हिंसा हो । म सुरक्षित आप्रवासनको क्षेत्रमा काम गर्छु । वैदेशिक रोजगारीमा गएका पुरुषका श्रीमतिहरुले भोग्नु परेको पिडाका उदाहरण मसंग प्रसस्तै छन् । सिन्धुलीमै करिब आधा दर्जन ठाँउमा ती सवारीका चालकले सुरक्षाकर्मीकोमा गएर ईन्ट्रि गर्छन् । तपाई मातहतका निकायले उनीहरुको ब्लुबुक र लाईसेन्स चेक पनि गर्छन् । कुनै तलमाथि भएको भए कारबाही पनि गर्छन् । तर उनीहरुले त्यस्ता सायरी लेख्ने गाडीलाई त्यो मेटाउ पनि भन्दैनन् ।
तपाईसँग मेरो विनम्र अनुरोध छ म्याडम, ती माईक्रोमा लेखिएका फरक लिंगकै भएका कारण कसैलाई चोट पुग्ने, महिलालाई होच्याउने, जिस्क्याउने उद्देश्यले लेखिएका सायरी मेट्न लगाईदिनुस न हुन्न ? प्राकृतिक रुपले रमणीय सिन्धुलीका आकर्षक सडकमा यस्ता सायरी लेखिएका गाडी गुडेको पटक्कै सुहाएनन् ।
हुन त सिन्धुलीबाट छुट्ने सवारीमा लेखिएका यस्ता कुरा मेटिए पनि देशभरका अनगिन्ती सवारीमा यस्ता सायरी रहला नै । तर हजार माईलको यात्रा पनि एक पाईलाबाटै शुरु हुन्छ भन्ने कुरा मैले तपाईलाई सम्झाई रहनुपर्ने विषय होईन जस्तो लाग्छ । मेरो मनले यसका लागि उपयुक्त पात्र तपाई नै हो भन्ने ठानेको छ । त्यसैले तपाईकै नेतृत्वमा सिन्धुलीबाट यो राम्रो कामको सुरुवात गर्दा कसो होला ?
सकारात्मक पहल कदमीको अपेक्षा सहित
उमा पौडेल सिन्धुली




















