सिन्धुली/सरकारले सुनकोशी–मरिन डाइभर्सन (नदी पथान्तरण) बहुउद्देश्यीय आयोजनाको निर्माणको प्रक्रिया अघि बढाउने तयारी गरेको छ । आयोजनाका लागि पूर्वतयारीहरु लगभग सकिएको तर, बजेटको स्रोत जुटिनसकेको सिँचाइ विभागले जनाएको छ ।
विभागका महानिर्देशक मधुकर राजभण्डारीले आफूहरु आयोजनाका लागि बजेटको स्रोत सुनिश्चितताको पर्खाईमा रहेको बताए । सरकारले स्रोत सुनिश्चित गर्नासाथ टेन्डरमा जान सकिने उनको भनाइ छ ।

ऊर्जामन्त्री वर्षमान पुनले आयोजना अघि बढाउन मन्त्रालयमा आएदेखि नै पहल गरेका थिए । उनले यो आयोजनालाई २ नम्बर प्रदेशको कृषि क्षेत्र सुधारको अभियान रुपमा ब्याख्या गर्दै आएका छन् । प्रदेश३ को जलस्रोतलाई २ नम्बर प्रदेशमा र्पुयाएर कृषि उत्पादन बढाउन आयोजना फलदायी हुने दाबी सरकारको छ ।
करिब ४६ अर्ब लागतको यो आयोजना निर्माणका लागि सुरुङमार्गको डिजाइन सकिएको छ । अहिले बाँधस्थलको डिजाइनको पुनरावलोकन भइरहेको छ । यो आयोजनाका लागि सुनकोशीबाट मरिनसम्म १३ किलोमिटरको सुरुङ निर्माण गर्नुपर्नेछ ।
तामाकोशी र सुनकोशी मिसिने स्थानभन्दा ७ सय मिटर तल बाँध बाँधेर सुनकोशीको पानी सुरुङमार्फत मरिणमा खसालिनेछ । मरिनको पानी बागमतीमा पुग्ने छ र बागमती सिँचाइ आयोजनामार्फत थप एक लाख २२ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा र्पुयाउन सकिनेछ । मरिनमा खसेको पानी ४० किलोमिटर तल बागमती नदीमा बाँधिएको बाँधमा पुगेर सिँचाइ नहरमा लगिनेछ ।
मरिनमा पानी खसाल्दा विद्युत गृह पनि बनाएर २९ मेगावाट बिजुली उत्पादन गर्ने योजना छ । आयोजनाबाट उत्पादित विजुली रािष्ट्रय प्रसारण लाइनमा जोडिनेछ । यो आयोजना बनेपछि सुनकोशीको ६४ क्युबिक मिटर प्रतिकेन्ड पानी मरिनमा झर्नेछ ।




















