सिन्धुली । सिन्धुली अस्पतालका डाक्टरहरु काममा फर्कने भएपछि मंगलबारदेखी अवरुद्ध ओपीडि सेवा सुचारु गरिएको छ । विरामीको चापलाई मध्यनजर गर्दै स्थानीय प्रशासन तथा सरोकारवालासँगको छलफल पछि डाक्टरहरु काममा फर्केका हुन । उनीहरुले ७२ घण्टा भित्र अस्पतालका डाक्टरहरुलाई दुव्र्यवहार गर्ने व्यक्तिलाई पक्राउ गरि कानुनी दायरामा ल्याउने र सुरक्षाको प्रत्याभूति दिलाउने प्रमुख जिल्ला अधिकारीसँगको मौखिक सहमतिपछि नियमित काममा फर्केको डाक्टरहरुले संयुक्त विज्ञप्ती जारी गरि जनाएका छन ।
बिमारीका आफन्त र विरामीले डाक्टरमाथि दुव्र्यवहार तथा गाली गलौज गरेर कुट्ने धम्कि दिएपछि डाक्टरहरुले आन्दोलन स्वरुप ओपिडी सेवा बन्द गराएका थिए । ओपीडि सेवा बन्द भएसँगै दैनिक ४ सयको हाराहारीमा अस्पताल आउने विरामीलाई भने मर्का परेको थियो ।
सुरक्षाको प्रत्याभूति गर्ने र दोषीलाई तत्काल कानुनी दायरामा ल्याउने सहमति भएपछि डाक्टरहरु अस्पतालको नियमिति काममा फर्केको अस्पतालका मेडिकल सुपरिटेन्डेन सुमित्रा गौतमले बताईन ।
बुधबार बिहान अस्पतालमा प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख, अस्पताल विकास समति, चिकित्सक, पत्रकार, नागरीक समाज लगायतको सर्वपक्षिय बैठकले दोषीलाई ७२ घण्टाभित्र कानुनी दायरमा ल्याउने सहमति भएपछि ओपीडि सेवा सुरु भएको हो ।
७२ घण्टाभित्र दोषीमाथि कारबाही नभए पुनः आन्दोलन गर्ने डाक्टरले जनाएका छन् । सोमबार राती अस्पतालमा ल्याईएकी कनपा १० की २० वर्षय अनिषा कार्कीका श्रीमान कृष्ण बस्नेतले डाक्टर प्रकृति मिश्र, डा. ममता यादव र डा.दिवस ढकाललाई गाली गलौज गरेको र हातपातको प्रयास समेत गरेपछि डाक्टरहरुले ओपीडि सेवा बन्द गराएका थिए । यस्तै मंगलबार दिउँसो जिल्ला अस्पतालको इमरजेन्सीमा विरामीको स्वास्थ्य जाँच गरिरहेका फिजिसियन डा. अभिषेक भण्डारी र अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलमाथि अस्पतालमा रेविजको सुइ लगाउन आएका कनपा ६ रातमाटाका देव बहादुर सुनुवारले गाली गलौज र पिट्ने धम्कि दिएका थिए ।




















