सिन्धुली । तिनपाटन गाउँपालिकाले पालिकाभरि बाख्रापालन, बंगुरपालन, भैसीपालन, माछापालन, गाईपालन सहित ७५ वटा व्यवसायीक पशुपालन फर्म सञ्चालन गरेको छ । किसानको माग अनुसार कृृषि फर्ममा लगानी गरिएको गाउँपालिकाको पशु सेवा शाखाले जनाएको छ ।
आर्थिक वर्ष २०७५÷०७६ मा पशु विकास कार्यक्रमका लागी विभिन्न् क्षेत्रमा अनुदान तथा प्राविधिक सेवाका लागी कुल ३६ लाख ६९ हजार पाँच सयँ रुपैयाँ बजेट बिनियोजन गरिएकोमा बाख्राको खोर सुधार ४४, बगुंरको खोर सुधार ३३, युवा लक्षित बाख्रापालन अनुदान २२ जनालाई, युवा लक्षित बंगुरपालन अनुदान ११ जनालाई दिएको पशु शाखा प्रमुख जयन्त कार्कीले बताए ।
व्यवसायीक पशुपालन गर्ने कुल १ सय १० जना कृषकहरुलाई अनुदान बितरण गरिएको र उनीहरुको माग बमोजिम शाखाले प्राविधिक सेवा समेत उपलब्ध गराएको कार्कीले बताए ।
तिनपाटन गाउँपालिकाका १२ वडाहरुमध्ये हालसम्म ३ वटा वडामा मात्र पशु प्राविधिक कार्यरत छन । जनशक्ति कम भएपनि किसानहरुको माग अनुसार प्राविधिक सेवा उपलब्ध गराइएको पशु शाखा प्रमुख जयन्त कार्की बताउछन
यस्तै गाउँपालिकाले वडा नं–७ तोश्रामखोलाका किसानहरुलाई वडा कार्यालयको सहकार्यमा घर घरमै पशुहरुका लागि प्राविधिक सेवा दिएको वडाअध्यक्ष कमल बहादुर खपांगीले बताए । आर्थिक बर्ष २०७५÷०७६ मा वडा कार्यालयबाट २ लाख बजेट विनियोजन गरि औषधी उपचारका सामग्रीहरु खरीद गरी वडावासीहरुलाई घरघरमै प्राविधिक सेवा दिन थालिएको उनले बताए ।
तिनपाटन गाउँपालिका पशु शाखा प्रमुख जयन्त कार्कीको नेतृत्वमा वडाबासीहरुलाई घरमै सेवा दिएको उनले बताए ।
पशुपालन पकेट क्षेत्रको रुपमा वडालाई विकास गर्न र किसानलाई उत्साह थप्न घरघरमै औषधी उपचार तथा पशु बन्ध्याकरण सेवा प्रवाह गरेको उनले जानकारी दिए । उनले आगामी आर्थिक बर्षमा वडालाई कृषि पकेट क्षेत्रको रुपमा घोषणा गरी बजेट तथा कार्यक्रम ल्याउने तयारी गरेको जानकारी दिए ।




















