सिन्धुली । जिल्लाका नौवटा स्थानीय तहको पूँजीगत खर्च (विकास बजेट) ३७ प्रतिशत देखि ८० प्रतिशतको बीचमा खर्च देखिएको छ । जेठको दोस्रो हप्तासम्ममा केहि गाउँपालिकाको खर्च राम्रो देखिए पनि दुर्गम गाउँपालिका र नगरपालिकाहरुको खर्च गराईको अवस्था नाजुक देखिएको छ ।
गाउँपालिकामा भन्दा नगरपालिकाको बजेट खर्च दर कम देखिएको छ । जिल्लाका नौ वटै स्थानीय तहको बजेट अवस्थालाई हेर्दा जम्माजम्मी ५६.८४ प्रतिशत मात्र खर्च भएको देखिन्छ ।
जिल्लाका नौ स्थानीय तहमध्ये दुधौली नगरपालिकाको पूजिगत बजेट खर्च ३७.२७ प्रतिशत अर्थात सबैभन्दा कम खर्च भएको देखिन्छ । नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत दिपेन्द्र पौडेलका अनुसार चालु आर्थिक वर्षका लागी ३८ करोड ८९ लाख ५७ हजार ४ सय ३५ रुपैया बजेट विनियोजन भएकोमा जम्मा ३७.२७ प्रतिशत मात्र खर्च भएको छ ।
यसैगरी दुर्गम र कम बजेट भएको घ्याङलेक गाउँपालिकाको पूँजिगत खर्च पनि कमजोर नै छ । ४३.१८ प्रतिशत मात्र बजेट खर्च भएको गाउँपालिकाकी लेखा अधिकृत सर्मिला तामाङले बताईन । गाउँपालिकाले चालु वर्षका लागी १२ करोड २१ लाख रुपैया पूजिगत खर्च विनियोजन गरेको थियो ।
यस्तै कमलामाई नगरपालिकाको पूँजिगत खर्च ४६.१६ प्रतिशत मात्र भएको छ । नगरपालिकाले चालु आर्थिक वर्षका लागी २६ करोड ७९ लाख ९१ हजार ३ सय ७१ रुपैया बजेट विनियोजन गरेकोमा जेठको दोस्रो सातासम्म १२ करोड ३७ लाख ७ हजार ३ सय ८२ रुपैया खर्च भएको लेखा अधिकृत टेकेन्द्र कार्कीले जानकारी दिए ।
यसैगरी मरिण गाउँपालिकाको पूजिगत खर्च ४९ प्रतिशत भएको लेखा अधिकृत सपना शर्माले बताईन । तीनपाटन गाउँपालिकाले ७० प्रतिशत विकास बजेट भुक्तानी भईसकेको जनाएको छ । प्रमुख प्रशासकिय अधिकृत राजन थापाका अनुसार अहिले लेखा अधिकृत नभएकाले भुक्तानी रोकिएको हुदा भुक्तानीमा समेत समस्या भएको छ ।
हरीहरपुरगढी गाउँपालिकाले चालु वर्षमा ५६ प्रतिशत विकास बजेट खर्च गरेको प्रमुख प्रशासकिय अधिकृत देबेन्द्र सापकोटाले बताए । ९ करोड ८६ लाख रुपैया पूजिगत बजेट विनियोजित बजेटमा हालसम्म ५ करोड ५५ लाख ९१ हजार ४ सय ४८ रुपैया खर्च भएको छ ।
जिल्लाको पूर्वी क्षेत्रमा रहेको फिक्कल गाउँपालिकाले ६४.९७ प्रतिशत बजेट खर्च गरेको प्रमुख प्रशासकिय अधिकृत दिपक रिजालले बताए । गाउँपालिकाले चालु वर्षका लागी १५ करोड ३३ लाख पूजिगत खर्च विनियोजन गरेकोमा ९ करोड ९६ लाख रुपैया खर्च भएको छ ।
यता सुनकोशि गाउँपालिकाले पनि पूजिगत खर्च ६५ प्रतिशत गरिसकेको प्रमुख प्रशासकिय अधिकृत विकास सुन्दासले बताए । गाउँपालिकाले २८ करोड बजेट चालु वर्षका लागि विनियोजन गरेको थियो ।
यता गोलञ्जोर गाउँपालिकाले भने तीन तहकै सबभन्दा बढी विकास बजेट खर्च गरेको छ । हालसम्म ८० प्रतिशत रकम खर्च भईसकेको गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत कृष्णहरी न्यौपानेले बताए ।




















