सिन्धुली । हुराडेक नेपाल दोलखाले सिन्धुलीमा शिक्षा, स्वास्थ्य, कृषि लगाएतका क्षेत्रमा रहेका समस्याको बारेमा छलफल गरेको छ । हुराडेकले बुधबार सिन्धुलीमाढीमा पारस्पारिक जवाफदेहिता परियोजना अन्तर्गत साझा सभा कार्यक्रमको आयोजना गरि छलफल गरेको हो । जिल्ला समन्वय समिति सिन्धुलीको सहकार्यमा भएको कार्यक्रममा सिन्धुलीमा स्वास्थ्यमा गाउँघर क्लिनिक सञ्चालनमा समस्या भएको, स्वास्थ्यचौकीहरुमा निशुल्क औषधिको अभाव भएको, स्वास्थ्य बिमाको औषधि विरामीले नपाएको, पहुँचका आधारमा सेवा दिने गरेको, स्वास्थ्यकर्मी अस्पतालमा नबसेको लगाएतका विषयमा छलफल भएको थियो ।
नागरिकका गुनासोका बारेमा कमलामाई नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख केम बहादुर थापाले कमलामाई नगरपालिकामा स्वास्थ्य सुविधा दिन कुनै कन्जुस्याईं नगरेको बताए । यस्तै जिल्ला स्वास्थ्य कार्यालयका प्रतिनिधि गुजेश्वरलाल श्रेष्ठले जिल्लाका अधिकांश बर्थिङ सेन्टरमा स्टाफ नर्स नभएको, गाउँघर क्लिनिक सञ्चालनमा भवन नहुदा समस्या भएको र कर्मचारी समायोजनको प्रत्यक्ष असर स्वास्थ्यमा परेको बताए ।
कार्यक्रममा कृषिका सूचना किसानमा नपुगेको, शिक्षामा स्थानीय तह र शिक्षा विकास तथा समन्वय इकाईबीचको समन्वयमा समस्या आएको, विद्यालयहरुमा शिक्षकको अभाव, विद्यार्थीको अभाव र प्रभावकारी शिक्षा नभएको विषयमा छलफल भएको थियो । शिक्षामा उठेका सवालको जवाफ शिक्षा विकास तथा समन्वय इकाईका अधिकृत नेत्र गजुरेलले दिएका थिए भने कृषिका सवालमा आएका गुनासोको स्पष्टीकरण कृषि ज्ञान केन्द्रका सूचना अधिकारी सरिता सापकोटाले दिएकी थिइन ।
जिल्ला समन्वय समितिका संयोजक शंकरराज बर्मा तिवारीको अध्यक्षतामा भएको कार्यक्रममा हुराडेकका सदस्य लक्ष्मी तामाङले स्वागत गरेको उक्त कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी विजया प्रसाई, नेपाल पत्रकार महासंघका उपाध्यक्ष बिमला पाण्डेले समसामयीक विषयमा मन्तव्य व्यक्त गरी सकारात्मक सोंचबाट सेवा प्रवाह गर्नुपर्ने र समन्वयकारी भूमिका खेल्नुपर्ने बताएका थिए । कार्यक्रमको सहजीकरण हुराडेकका नवराज पथिकले गरेका थिए भने सञ्चालन हुराडेक नेपालका सिन्धुली जिल्ला संयोजक सुस्पा भुजेलले गरेकी थिईन ।




















