सिन्धुली । कमलामाई नगरपालिका सिन्धुलीले तीनवटा एम्बुलेन्स नेपाल रेडक्रस सोसाईटीका तीनवटा उपशाखालाई एकै पटक हस्तान्तरण गरेको छ । कमलामाई नगरपालिकाको सहयोगमा नेपाल रेडक्रस सोसाईटीको संयोजनमा एक कार्यक्रमको आयोजना गरि बुधबार एम्बुलेन्स हस्तान्तरण तथा सेवा सुभारम्भ गरिएको हो ।
कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले रिवन काटेर एम्बुलेन्सको सेवा सुभारम्भ गरे भने नेपाल रेडक्रस सोसाईटीको कनपा ६ मा रहेको माढीबजार उपशाखा, कनपा ८ मा रहेको करकरे उपशाखा र कनपा ११ मा रहेको रानीचुरी उपशाखालाई एम्बुलेन्स हस्तान्तरण गरेका हुन ।
नगरप्रमुख खत्रीको अध्यक्षता एवम् प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा खत्रीले वडाध्यक्षहरुको रोहबरमा एम्बुलेन्सको साँचो हस्तान्तरण गरेका छन ।
कमलामाई नगरपालिकाको ३६ लाख लगानीमा तीनवटा एम्बुलेन्स खरिद गरिएको नगरपालिकाले जनाएको छ । एम्बुलेन्सको व्यवस्थापन तथा सञ्चालनको सम्पूर्ण जिम्मेवारी रेडक्रसका उपशाखाहरुको रहने र त्यस क्षेत्रका नागरिकलाई छिटो छरितो रुपमा स्वास्थ्यको पहुँचमा पु¥याउन नगरपालिकाले एम्बुलेन्स हस्तान्तरण गरेको नगरपालिकाका प्रमुख खड्ग खत्रीले बताए ।
नेपाल रेडक्रस सोसाईटी सिन्धुलीका सभापति अशोक श्रेष्ठले रेडक्रसले हस्तान्तरण गरेका तीन एम्बुलेन्स सहित जिल्लामा स्थानीय तहको सहकार्यमा १६ वटा एम्बुलेन्स सञ्चालन भएको र दुधौली नगरपालिका र गोलञ्जोर गाउँपालिकामा हस्तान्तरण गर्न बाँकी रहेको बताए । यी दुई पालिकामा तत्काल हस्तान्तरण भएपछि १८ वटा एम्बुलेन्स सञ्चालनमा आउने बताए । मानवीय सेवा र स्वास्थ्यमा नागरिकको पहुँच पु¥याउन हरेक स्थानीय तहमा एम्बुलेन्स सेवा सुरु गरिएको श्रेष्ठले जानकारी दिए । उनले रेडक्रसले विपदलाई समेत लक्षित गरी यो अभियान सुरु भएको जानकारी दिए ।
उनका अनुसार अब जिल्लाका ९ वटै स्थानीय तहमा एम्बुलेन्स सुविधा पुगेको छ । एम्बुलेन्स व्यवस्थापन समितिले गरेको दररेटमा सबै एम्बुलेन्स चलिरहेको पनि उनले जानकारी दिए । यस्तै उनका अनुसार सववाहन पनि रेडक्रसले सञ्चालन गरिरहेको छ ।





















