सिन्धुली । कमलामाई नगरपालिकाले जनप्रतिनिधि निर्वाचित भएको दुई वर्षको अवधिमा सम्पन्न भएका कामहरु सार्वजनिक गरेको छ । मंगलबार सिन्धुलीमाढीमा पत्रकार सम्मेलन गरि कामको प्रगति विवरण सार्वजनिक गरेको हो । पदवहाली भएको जेठ ५ गते २ वर्ष पुगेको अवसरमा सम्पन्न काम सार्वजनिक गरिएको हो ।

नगरपालिकाले प्राथमिकतामा राखेको सिन्धुलीगढीको पुननिर्माण तथा संरक्षणमा विस्तृत गुरुयोजना निर्माण, रानी दरबारको डिजाइन, नक्सा तथा लागत अनुमान तयारी सम्पन्न, घराबेरा, नगर प्रहरीको ईकाई स्थापना, शौचालय निर्माण तथा पृथ्वी नारायणको सालिक निर्माणको अन्तिम चरण प्रवेश लगाएतका कामहरु सम्पन्न भएको कमलामाई नगरपालिकाका मेयर खड्ग खत्रीले बताएका छन । उनले ऐतिहासिक स्थल सिन्धुलीगढीमा पर्यटन भित्राउने लक्ष्यका साथ भद्रकालीमा होमस्टे सञ्चालन गर्ने गरि तयारी भएको जनाए । जसका लागि तालिम तथा स्टमेट सहित काम अगाडि बढेको जनाए ।
यस्तै कमलामाई नगरपालिकाबाट विभिन्न गाउँपालिका तथा जिल्ला छुने ५ वटा सडक डिपिआर सम्पन्न भएको, नगरक्षेत्र भित्र खानेपानी, विद्युतिकरणको आवश्यक प्रतिवेदन तयार गरी काम अगाडि बढेको लगाएतका काम भएको पनि खत्रीले बताए । यस्तै नगरपालिकाले सार्वजनिक गरेको प्रतिवेदनमा नगरपालिकाले सिसीटिभि जडान, सोलार बत्ति जडान, कृषिमा विउविजन वितरणदेखि घाँस वितरणसम्मका कामहरु गरिएको उल्लेख गरिएको छ ।
यस्तै न्यायीक समितिमा आएका ८२ उजुरीमा ३७ वटा मुद्दा फस्र्यौट भएको, महिला सेभ हाउस निर्माण प्रक्रिया अगाडि बढाईएको, महिला जनजाती दलितहरुलाई तालिम सञ्चालन गरिएको, ऐलानी जग्गाको लगत लिन सुरु भएको लगाएतका कार्यक्रमहरु सार्वजनिक गरिएको छ ।
यस्तै नगरपालिकामा ढाका उत्पादनलाई बढावा दिन एक घर एक तान कार्यक्रम अगाडि सारिएको पनि पत्रकार सम्मेलनमा खत्रीले जानकारी दिए । यस्तै पत्रकार सम्मेलनमा नगरपालिका सूचना प्रविधिमैत्री बन्दै गएको पनि जानकारी दिईएको छ । नगरपालिकाले सूचना प्रविधिको विकासका क्रममा बसपार्क सिन्धुली अस्पताल क्षेत्रमा फ्रि वाईफाई सुरु, विद्युतिय ठेक्का प्रणाली, मोवाईल एप्स सञ्चालन गरेको जनाएको छ । यस्तै सबै वडा कार्यालयहरु सूचना प्रविधि मैत्री बनाउने काम अन्तिम चरणमा पुगेको लगाएतका कार्यक्रम सम्पन्न भएको पत्रकार सम्मेलनमा जानकारी दिईएको छ ।
यस्तै कमलामाई नगरपालिकाले करमा गत वर्षको तुलनमा दोब्बर वृद्धि गरेको, ११ वटा ऐन,४ वटा नियम र १८ वटा कार्यविधि निर्माण गरि कार्यान्वयनमा ल्याएको, एक सववाहन, सरसफाईका लागि आवश्यक एक ट्रिपर खरिद गरिएको, ३ वटा वडामा एम्बुलेन्स सेवा सुचारु गर्न एम्बुलेन्स खरिद गरिएको लगाएतका कार्यक्रम सार्वजनिक गरिएको छ ।



















