सिन्धुली । फिक्कल गाउँपालिका क्षेत्रमा लगाएको मकै बालीमा लामो खडेरीका कारण क्षति पुगेको छ । खडेरीले करिब पाँच हजार रोपनी जमिनको मकै खेती नष्ट भएको फिक्कलका किसानले बताएका छन् । पानी नपर्दा सुत्ला लाग्नै लागेका मकै खेती नष्ट भएको फिक्कल गाउँपालिकाका अध्यक्ष धनबहादुर कार्कीले बताए ।

फिक्कललाई सुक्खाग्रस्त क्षेत्र घोषणा गर्न स्थानीयले सरकारसँग माग गरेका छन् । तर, विगत वर्षदेखि नै गाउँपालिकालाई सुक्खा क्षेत्र घोषणा गर्न माग गर्दै आए पनि सुनुवाइ नभएको पनि उनले बताए । फिक्कलको सुनकोसी क्षेत्रका किसान वर्षातका वेला बाढी र हिउँदमा खडेरीको मारमा पर्दै आएका छन् । ‘तल कोसी बग्छ तर किसानलाई खानेपानी सिँचाइको सुविधा छैन,’ अध्यक्ष कार्कीले भने । सिँचाइ आयोजना निर्माणका लागि गाउँपालिकासँग बजेट नभएको पनि उनले बताए ।



















