सिन्धुली । मरिण गाउँपालिकाले स्थानीय पाठ्यक्रम तयार गरेको छ । मातृभाषा, दृष्टिविहीनका लागि ब्रेल लिपि, सांकेतिक भाषा सहितको पाठ्यक्रम तयार पारिएको छ । शिक्षाको पहुँच, बाल विकास, निःशुल्क तथा समावेशी शिक्षा, खेलकुद तथा अतिरिक्त क्रियाकलाप लगायत विषयवस्तुलाई समेटिएको शिक्षा शाखा प्रमुख नवराज बरालले बताए ।
स्थानीय जातजाति, भाषा, संस्कृति, भौगोलिक अवस्था, खेलकुद तथा अतिरिक्त क्रियाकलाप, ऐतिहासिक तथा पर्यटकीय विषयवस्तु समेटिएको बराले बताए । यसले सरकारले लिएको दिगो विकास लक्ष्य हासिल गर्न सहयोग पुग्ने गाउँपालिकाले विश्वास लिएको गाउँपालिका अध्यक्ष पानीराज बम्जनले बताए ।
पाठ्यक्रम तयारीमा विज्ञका रुपमा डा. हरिप्रसाद पोखरेललाई गाउँपालिकाले जिम्मा दिएको थियो । पोखरेलका अनुसार मुलुकमै पहिलो पटक मरिण गाउँपालिकाले स्थानीय समावेशी पाठ्यक्रम तयार पारेको दावी गरे । उनले निकै छलफल बहस र अध्ययन गरेर पाठ्यक्रम ल्याइएको जानकारी दिए ।
शिक्षक र विद्यार्थीको रुचि, क्षमता र कार्यान्वयन तहलाई मध्यनजर गरी पाठ्यक्रम तयार पारिएको उनले बताए ।
गाउँपालिकाको नयाँ पाठ्यक्रम संघीय शिक्षा मन्त्रालय र पाठ्यक्रम विकास केन्द्रले स्वीकृत गरेपछि कार्यान्वयनमा लगिने गाउँपालिकाले जनाएको छ ।
नेपालको संविधान २०७२ को अनुसुचि ८ मा माध्यमिक तहसम्मको शैक्षिक जिम्मेवारी स्थानीय तहले पूरा गर्ने उल्लेख छ । धारा १२१ को अनुसूची ८ र ९ मा गाउँ तथा नगरले शिक्षा नीति बनाउँदै आफ्ना पाठ्यक्रम समेत तयार गर्न सक्ने व्यवस्था छ । गाउँपालिकाले यो वर्ष गुणस्तरीय शिक्षाका लागि २ करोड ६५ लाख रुपैयाँ खर्च गर्दै छ ।




















