बुद्ध नेपाली
सिन्धुली । प्रमुख प्रतिपक्षी दल नेपाली काग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारले अहिलेको सुनौलो मौकाको सदुपयोग गर्न नसकेको बताएका छन् ।
शनिवार रामेछापको एक कार्यक्रममा सहभागी भई सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढी क्षेत्रको अवलोकन गर्न आएका नेता पौडेलले जिल्लाका नेता कार्यकर्तासँगको भेटघाटका क्रममा यस्तो बताएका हुन् ।
उनले विकास निर्माण गर्नका लागि अहिले देशमा सबै तिरबाट सहज वातावरण तयार भएको अवस्थामा पनि कम्युनिष्ट सरकारले विकासमा छलाङ मार्न नसकेको आरोप लगाए । उनले भने‘ यो सरकारका लागि ईतिहासमै सुनौलो मौका थियो । यो मौका सरकारले सदुपयोग गर्न सकेन, यो सरकारले अहिले सम्म धेरै मौका गुमाई सकेको छ, देश निर्माणको यस्तो सुनौलो मौका गुमेकोमा मलार्ई दुःख लागेको छ ।’
उनले कम्युनिष्ट नेतृत्वको सरकारले देशमा शान्ति, सुरक्षा कायम गर्न नसकेको बताउदै देशमा भ्रष्टाचारको जँग हाल्न कम्युनिष्ट सरकार नै लागी परेको आरोप लगाए । ‘प्रधानमन्त्री समृद्धिको जग बसाल्यौं, आधारसिला खडा ग¥यौं भन्नुहुन्छ । तर जग भ्रष्टाचारको बसेको देखिन्छ’ । उनले भने‘भ्रष्टचारको जगमा समृद्धिको महल खडा हुन सक्दैन ।”
उनले सरकारले संघियता विरोधी कमद चालि रहेको भन्दै सरकार विकेन्द्रीकरण भन्दा पनि केन्द्रीकरण तर्फ हरेक कदम चाल्दै गएको आरोप लगाए । ‘संविधानले दिएको स्थानिय प्रदेश सरकारको अधिकार माथि खिचेर लिने र नागरिकको अधिकारलाई सिमित पार्ने काम भई रहेको छ । उनले भने ‘बस्तारै निरंकुशता तिर अहिलेको सरकारको पाईलाहरु चलिरहेको देखिन्छ, त्यस किसिमको गलत र उल्टो बाटोमा जान हामी दिदैनौं’ ।
उनले पार्टीका सभापतिको कार्यशैली तर्फ लक्षित गर्दै नेपाली काँग्रेस एजेण्डा बिहिन पार्टी बन्दै गएको भन्दै कार्यकर्तासँग दुखेसो पोखे ।‘मैले पाँच, सातवटा एजेण्डा लेखेर केन्द्रिय समितिमा बुझाएको छु, त्यसलाई आगामी केन्द्रिय समितिको बैठकबाट पारित गर्ने प्रयास गर्छु’ उनले भने ।
आगामी चुनाबमा काँग्रेसलाई जिताउने गरी संगठनमा लाग्न समेत उनले कार्यकर्तालाई निर्देशन दिए । ऐतिहासिक सिन्धुलीगढीको अवलोकन गर्दै उनले साम्राज्यवादी शक्तिसँग सानो संख्यामा रहेका नेपालीहरुले लडेर स्वतन्त्रता बचाएको ठाँउ सिन्धुलीगढी भएको बताए ।




















