सिन्धुली । तिनपाटन गाउँपालिकाले स्वास्थ्य संस्थामा प्रयोग हुने औषधिको माग, आपूर्ति र गुणस्तरबारे छानबिन गर्न सर्वदलीय तथा सर्वपक्षीय समिति गठन गर्ने निर्णय गरेको छ ।
गाउँ कार्यपालिकाको असोज ५ गते बसेको बैठकले सामाजिक सञ्जालमा औषधिको गुणस्तर सम्बन्धी सार्वजनिक भएका विषयलाई गम्भीर रूपमा लिएको जनाउँदै यथार्थ तथ्य पत्ता लगाउन १५ दिनभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारी सहित समिति गठन गर्ने निर्णय गरेको हो ।
गाउँपालिकाले जारी गरेको विज्ञप्ति अनुसार समितिको संयोजक गाउँपालिका उपाध्यक्ष रहनेछन् । समितिमा राष्ट्रिय मान्यता प्राप्त राजनीतिक दलका एक, एक जना प्रतिनिधि, सम्बन्धित वडाका वडा अध्यक्ष तथा जनस्वास्थ्य शाखा प्रमुख सदस्य–सचिव रहने व्यवस्था गरिएको छ । आवश्यकता अनुसार जनस्वास्थ्य कार्यालय सिन्धुलीका अधिकृत प्रतिनिधिलाई पनि आमन्त्रण गरिने उल्लेख गरिएको छ ।
बैठकले स्वास्थ्य क्षेत्रमा कार्यरत केही कर्मचारीले बागमती प्रदेशको स्थानीय सेवा (गठन तथा सञ्चालन) ऐन, २०७९ को आचरण सम्बन्धी व्यवस्था विपरीत काम गरेको पाइएमा उनीहरूमाथि विभागीय कारबाही प्रक्रिया अघि बढाउन प्रमुख प्रशासकीय अधिकृतलाई निर्देशन दिने निर्णय पनि गरेको छ । तर को को कर्मचारीलाई कारवाहि गरिने भन्ने विषयमा भने विज्ञप्तीमा केहि खुलाईएको छैन ।
यस्तै, गाउँपालिका अन्तर्गत मातहतका स्वास्थ्यकर्मीहरूले रातीको समय तथा सार्वजनिक बिदाका दिन ड्युटी गरेको अवस्थामा प्रचलित कानुन बमोजिम उनीहरूले पाउने भत्ता उपलब्ध गराउने निर्णय समेत गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिका अध्यक्ष कर्णबहादुर मगरद्वारा हस्ताक्षरित विज्ञप्तिमा औषधिको गुणस्तर सम्बन्धी उठेका जनचासोप्रति गाउँपालिका संवेदनशील रहेको र तथ्यका आधारमा आवश्यक कदम चालिने उल्लेख गरिएको छ । यता सरोकारवालाले भने समिति गठनमै प्रश्न गरेका छन् । जनस्वास्थ्य शाखा प्रमुख नै छानविनमा तानिनुपर्ने व्यक्ति नै समितिमा रहेपछि निश्पक्ष छानविन हुन नसक्ने राजनीतिक दलका प्रतिनिधिहरु, सामाजिक क्षेत्रका व्यक्तिहरु तथा नागरिकहरुले जनाएका छन् ।





















