सिन्धुली । आर्थिक वर्ष २०८२/०८३ मा सम्पादित स्वास्थ्य कार्यक्रमहरूको जिल्ला स्तरीय कार्यसम्पादन मूल्यांकनमा गोलन्जोर गाउँपालिका उत्कृष्ट भएको छ । स्वास्थ्य सेवा प्रवाह तथा कार्यक्रम कार्यान्वयनका समग्र सूचक र प्रस्तुतीकरणका आधारमा गोलन्जोरले जिल्लाका स्थानीय तहमध्ये प्रथम स्थान हासिल गरेको हो ।
उक्त मुल्यांकनमा कमलामाई नगरपालिका दोस्रो र फिक्कल गाउँपालिका तेस्रो भएका छन् । जनस्वास्थ्य कार्यालय सिन्धुलीको आयोजनामा सिन्धुलीमाढीमा भएको दुई दिने जिल्ला स्तरीय वार्षिक समिक्षा तथा योजना तर्जुमा गोष्ठीमा उत्कृष्ट स्थानीय तहका स्वास्थ्य शाखालाई सम्मान गरिएको छ ।
गोष्ठीमा कार्य सम्पादन तथा मूल्यांकनका आधारमा उत्कृष्ट स्थान हासिल गर्ने स्थानीय तह सहित जिल्लाका सबै स्थानीय तहलाई प्रशंसापत्र सहित सम्मान गरेको आयोजकले जनाएको छ ।
कार्यक्रममा स्वास्थ्य सेवामा योगदान पु¥याएको भन्दै सिन्धुली अस्पताल, जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र तथा स्वास्थ्य सेवा प्रवाहमा सहकार्य गर्ने विभिन्न नीजि तथा साझेदार संस्थालाई पनि सम्मान गरिएको थियो । स्वास्थ्य क्षेत्रमा प्रत्यक्ष खटिने विद्यालय नर्सका प्रतिनिधिहरूलाई समेत उक्त अवसरमा सम्मान गरिएको छ ।
दुई दिनसम्म चलेको गोष्ठीमा जिल्लाभर सञ्चालित स्वास्थ्य सेवा, खोप, मातृ तथा बाल स्वास्थ्य, पोषण लगायतका विभिन्न स्वास्थ्य सूचकको प्रगति विवरणमाथि समिक्षा गरिएको थियो । यस्तै कार्यक्रममा आगामी दिनमा स्वास्थ्य सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गरिएको जनस्वास्थ्य कार्यालय सिन्धुलीले जनाएको छ ।





















