सिन्धुली । सुनकोशी गाउँपालिकाका शिक्षक तथा कर्मचारीले रसुवा नुवाकोट क्षेत्रमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकहरूको राहत तथा पुनःस्थापनाका लागि १३ लाख ३३ हजार ३३३ रुपैयाँ सहयोग संकलन गरि सरकारलाई पठाएका छन् । उक्त रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको गाउँपालिकाले जनाएको छ ।
गाउँपालिकाले मंगलबार जारी गरेको विज्ञप्ति अनुसार बाढीमा ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । साथै घाइते तथा प्रभावित नागरिकको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुनःस्थापनाको कामना समेत गरेको छ ।
संकलित रकममध्ये गाउँपालिका तथा मातहतका कार्यालयका कर्मचारीबाट ४ लाख १७ हजार १७२ रुपैयाँ र गाउँपालिकाभित्रका विद्यालयका शिक्षक–शिक्षिकाबाट ९ लाख १६ हजार १६१ रुपैयाँ संकलन भएको हो । दुवै रकम जोड्दा कुल १३ लाख ३३ हजार ३३३ रुपैयाँ पुगेको गाउँपालिकाले जनाएको छ । संकलित रकम मंगलबार नै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिएको छ ।
गाउँपालिकाका अनुसार विपद् व्यवस्थापन कोषमा यसअघि नै रहेको २ लाख रुपैयाँ समेत राहत प्रयोजनका लागि छुट्टै राखिएको छ । साथै पालिका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र कार्यपालिका सदस्यहरूले समेत आफ्नो पारिश्रमिकबाट अतिरिक्त सहयोग गर्ने प्रतिवद्धता विज्ञप्ती मार्फत जनाएका छन् ।
गाउँपालिकाले सहयोगमा सहभागी सबै कर्मचारी, शिक्षक तथा सरोकारवालाप्रति आभार व्यक्त गर्दै विपद्को घडीमा एकताबद्ध भएर प्रभावित नागरिकको साथमा उभिन सबैलाई आग्रह गरेको छ ।




















