सिन्धुली । जनआस्था साप्ताहिकका प्रधान सम्पादक किशोर श्रेष्ठ पक्राउ परेका छन् । समाचारको विषयलाई लिएर प्रहरीले श्रेष्ठलाई बुधबार राती ललितपुरको बागडोलबाट पक्राउ गरेको हो । जिल्ला प्रहरी परिसर काठमाडौंमा श्रेष्ठ विरुद्ध वैयक्तिक गोपनीयता ऐन सम्बन्धी कसुरमा जाहेरी परेको थियो ।
गत साउन २५ गते जनआस्था डटकममा सप्तरी क्षेत्र नम्बर–३ बाट निर्वाचित सांसद अमरकान्त चौधरीसँग सम्बन्धित सामग्री प्रकाशित भएको थियो । उक्त सामग्रीमा आफ्नो नाम जोडिएको भन्दै एक युवतीले प्रहरीमा जाहेरी दिएकी थिइन् ।
सोही जाहेरीका आधारमा अनुसन्धानका लागि श्रेष्ठलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले थप अनुसन्धान अघि बढाएको छ ।
श्रेष्ठ विश्व प्रेस काउन्सिलका उपाध्यक्ष तथा प्रेस काउन्सिल नेपालका पूर्व अध्यक्ष समेत हुन् । उनी जनआस्था साप्ताहिकका प्रधान सम्पादकका रूपमा लामो समयदेखि पत्रकारिता क्षेत्रमा सक्रिय छन् ।
पक्राउ प्रकरणसँगै प्रकाशित सामग्री, त्यसमा उल्लेखित विषयवस्तु तथा व्यक्तिगत गोपनीयता सम्बन्धी कानुनी प्रावधानका विषयमा पनि बहस सुरु भएको छ । उनको पक्राउको विरुद्धमा देशभरका पत्रकारहरुले विरोध जनाएका छन् ।




















