सिन्धुली । बुधबार प्रहरीले लागूऔषध सहित एकजना युवकलाई पक्राउ गरेको छ । मदन भण्डारी राजमार्ग अन्तर्गत दुधौली नगरपालिका वडा नं. ६ पोखरेबाट प्रहरीले लागुऔषध सहित सुनसरीका एक युवकलाई पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार दुधौलीबाट सिन्धुलीतर्फ आउँदै गरेको हायसलाई चेकजाँच गर्ने क्रममा लागूऔषध फेला परेको हो । प्रहरी चौकी दुधौलीबाट प्रहरी नायब निरीक्षक जयन्त बरालको कमाण्डमा ट्राफिक प्रहरी सहित खटिएको पाँच जनाको टोलीले हायस चेकजाँच गरेको थियो ।
चेकजाँचका क्रममा हायसमा सवार सुनसरीको बराहक्षेत्र नगरपालिका वडा नं. ६ चक्रघट्टीका २२ वर्षिय विवेक शर्माको साथमा रहेको झोलाभित्र लागूऔषध लुकाइ छिपाइ ल्याएको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार शर्माको साथबाट २.२९ ग्राम खैरो हेरोइन बरामद भएको छ । यस्तै स्पारेस्ट ट्याब्लेट ६० वटा, एन्टीकफ ट्याब्लेट४८ वटा, स्पास्मो ट्याब्लेट १८ वटा र ट्रमाडोल क्याप्सुल १८ वटा बरामत गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी विजय श्रेष्ठले जानकारी दिएका छन् ।
पक्राउ परेका शर्मालाई बरामद लागूऔषध सहित इलाका प्रहरी कार्यालय दुधौलीमा ल्याई थप अनुसन्धान सुरु गरिएको श्रेष्ठले प्रेस विज्ञप्ती जारी गरि जानकारी दिएका छन् ।





















