सिन्धुली । सामाजिक समस्या पहिचान तथा समाधान सम्बन्धि परियोजना कार्य अन्तर्गत सिन्धु शुभ प्रभात बोर्डिङ स्कुलका बालबालिकाले कमलामाई नगरपालिका सिन्धुली र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको ध्यानाकर्षण गराएका छन् । मंगलबार कक्षा १० का विद्यार्थीहरूले २ सय ३६ जना नागरिकको हस्ताक्षर संकलन गरि नगरपालिका र जिल्ला प्रशासन कार्यालय सिन्धुलीको ध्यानाकर्षण गराएका हुन् ।
विद्यार्थीहरूले स्थानीयस्तरमा पहिचान गरेको सामाजिक समस्याको समाधानका लागि नागरिकको समर्थन जुटाउँदै हस्ताक्षर सहितको निवेदन तथा मागपत्र सम्बन्धित निकायमा बुझाएका हुन् । उनीहरूले समस्या समाधानका लागि आवश्यक पहल गर्न नगरपालिका तथा प्रशासन समक्ष आग्रह गरेका छन् ।
परियोजना कार्यका क्रममा विद्यार्थीहरूले सामाजिक समस्या पहिचान गर्नुका साथै स्थलगत अध्ययन र स्थानीय नागरिकसँग अन्तरक्रिया गरेका थिए । अभियान मार्फत नागरिकमा सचेतना फैलाउन उनीहरूले विभिन्न सन्देश सहितका प्लेकार्ड प्रदर्शन समेत गरेका थिए ।
विद्यालयका सामाजिक विषय शिक्षक सुशील कोइरालाको नेतृत्वमा सञ्चालन गरिएको परियोजना कार्यले विद्यार्थीलाई कक्षाकोठामा सिकेको ज्ञानलाई व्यवहारिक जीवनसँग जोड्ने प्रयास गरेको विद्यालयले जनाएका छन् । परियोजनाले विद्यार्थीमा सामाजिक समस्या पहिचान गर्ने, नागरिकसँग संवाद गर्ने, जनसहभागिता जुटाउने, नेतृत्व गर्ने तथा समाधानका लागि सम्बन्धित निकायसँग पहल गर्ने सीप विकास गर्ने उद्देश्य राखेको शिक्षक कोइरालाले बताए ।
विद्यार्थीहरूले बुझाएको मागपत्र र अभियानप्रति कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र पोखरेल र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले सकारात्मक प्रतिक्रिया दिएको विद्यालयले जनाएको छ । सम्बन्धित निकायबाट समस्या समाधानका लागि आवश्यक पहल गर्ने आश्वासन समेत प्राप्त भएको बताइएको छ ।
विद्यार्थीहरूको यो अभियानले विद्यालयमा हुने सिकाइलाई समुदायसँग जोड्दै नागरिक सहभागिता, सामाजिक उत्तरदायित्व र समस्या समाधानमा विद्यार्थीको भूमिकालाई व्यवहारमै प्रस्तुत गरेको देखाएको छ । बालबालिकालाई सामाजिक विषयमा अध्ययनसँगै नागरिक सहभागिता र सार्वजनिक निकायसँग संवाद गर्ने अवसर प्रदान गर्ने भएकाले परियोजना कार्य प्रभावकारी बनेको विद्यालयले जनाएको छ ।





















