- पैतालिस राउण्ड हवाई फायर
- एक जनालाई गोली लाग्यो
- तीन प्रहरी सहित चार घाइते
- सुरक्षालाई मध्येनजर गर्दै थप प्रहरी खटाईयो
- प्रहरी कार्यालय तोडफोड गर्ने पाँचजना नियन्त्रणमा
सिन्धुली । इलाका प्रहरी कार्यालय कपिलाकोटमा तोडफोड गर्न पुगेका स्थानीय र प्रहरीबीच शनिबार साँझ पौने सातबजे झडप हुदा तीन जना प्रहरी सहित चारजना घाइते भएका छन । माघ २४ गते मरिण गाउँपालिका वडा नं. ६ धमिलेका शिर बहादुर स्याङताङको विवाहमा भएको खुकुरी प्रहारको घटनामा संलग्नलाई प्रहरीले पक्राउ गरेपछि स्थानीयले प्रहरी कार्यालयमा तोडफोड गर्न पुगेका थिए ।
प्रहरी कार्यालयमा तोडफोड, ढुंगामुढा प्रहार भएपछि प्रहरीले ४५ राउण्ड हवाईफायर गरेको इलाका प्रहरी कार्यालय कपिलाकोटका इन्सपेक्टर चरित्र विक्रम कार्कीले बताए । उनका अनुसार स्थानीयको ढुंगामुढा प्रहारबाट सई दिप बहादुर अर्याल, असई राजन खड्का र प्रहरी जवान विनोद कुमार शाह घाइते भएका छन । घाइते अर्यालको ढाड र दाहिने खुट्टामा चोट लागेको छ । खड्काको छातिमा ढुंगाले लागेर चोट लागेको र शाहको दाहिने खुट्टामा चोट लागेको कार्कीले बताए । उनीहरुको अवस्था सामान्य रहेको पनि उनले बताए ।
यस्तै घटनाको नेतृत्व गरेका मरिण ६ धमीलेका सार्कीमान मोक्तान प्रहरीको गोली लागी घाईते भएका छन । उनको दाहिने पातामा गोली लागेको मरिण गाउँपालिकाका अध्यक्ष पानीराज बम्जनले बताए । गोली लागि घाईते भएका मोक्तानको प्राथमिक स्वाथ्यकेन्द्र कपिलाकोटमा प्राथमिक उपचारपछि थप उपचारका लागि धुलिखेल अस्पताल पठाईएको उनले वताए ।
स्थानीयको ढुङगा प्रहारवाट घाइते प्रहरीको प्राथमिक स्वास्थ्य केन्द्र कपिलाकोटमा उपचार भएको इन्स्पेक्टर कार्कीले बताए ।
प्रहरीले माघ २४ गते खुकुरी प्रहार गर्ने स्थानीय शंकर गोले र दोर्जे गोलेलाई शुक्रबार पक्राउ गरेको थियो भने खुकुरी प्रहारको आरोप लागेका ३८ वर्षिय गणेश गोलेलाई शनिबार पक्राउ गरेको थियो । गणेश गोलेलाई पक्राउ गरेपछि करिब १ सयको हाराहारीमा इलाका प्रहरी कार्यालय पुगेका स्थानीयले दुईवटा सिलिण्डर ग्याँस समेत पड्काउने प्रयास गरेका थिए ।
२४ गते भएको खुकुरी प्रहारबाट ५ जना घाइते भएका थिए । घाइतेमध्ये २ जनाको काठमान्डौको कान्तिपुर अस्पताल र भोजकुमार गोले र अन्य एकजनाको धुलिखेल अस्पतालमा उपचार भईरहेको प्रहरीले जनाएको छ । प्रहरी कार्यालय तोडफोड गर्न आएका ५ जना स्थानीयलाई प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीले मरिण ६ का २१ वर्षिय दुर्गा बम्जन, २७ वर्षिय सुमन तामाङ, २४ वर्षिय राजकुमार गोले, ३५ वर्षिय सञ्जु गोले र २२ वर्षिय रितामाया वाईवालाई नियन्त्रणमा लिएको हो । उनिहरुलाई ईलाका प्रहरी कार्यालय कपिलाकोटमा राखिएको प्रहरीले जनाएको छ ।
यस्तै घटना भएको थाहा पाए लगत्तै इलाका प्रहरी कार्यालय कपिलाकोटमा पुगेका गाउँपालिका अध्यक्ष बम्जनले त्यहाँको अवस्था क्षत विक्षत रहेको बताए । उनले मानिसहरुको कुनै भिड त्यहाँ नभए पनि प्रहरी परिसरमा ढुंगा, मुढा तथा ग्याँसको सिलिण्डर यत्रतत्र छरपस्ट रहेको जानकारी दिए ।
प्रमुख जिल्ला अधिकारी ज्ञानप्रसाद ढकालले घटनाको पुष्टि गरेका छन । उनले रातीको समयमा प्रहरी कार्यालयमा आक्रमण भएकाले हवाई फायर गर्न र गोली चलाउन बाध्य भएको बताए । उनका अनुसार घटनास्थलको अवस्था सामान्यमा आइसकेको छ । घटनास्थलको सुरक्षाका लागि त्यसतर्फ थप सुरक्षाकर्मीहरु खटाईएको ढकालले जानकारी दिए ।



















