सिन्धुली । मध्येपहाडी लोकमार्ग अन्तर्गत फिक्कल गाउँपालिका २ को चण्डी भञ्ज्याङमा विहिबार विहान भएको बोलेरो दुर्घटनामा मृत्यु हुनेको संख्या पाँच पुगेको छ । करिब ११ बजेतिर भएको बोलेरो दुर्घटनामा परि ४ जनाको घटना स्थलमै मृत्यु भएको थियो भने एकजनाको उपचारका क्रममा खुर्कोटमा मृत्यु भएको प्रहरीले जनाएको छ ।
दुर्घटनामा परि घाइते भएकामध्ये गम्भिर घाइते भएका चालक मान बहादुर सुनुवार सहित ३ जनालाई उपचारका लागि धुलिखेल लगिएको छ भने अन्य ५ जनाको उपचार खुर्कोटमा रहेको शुभस्वस्तिक अस्पतालमा भईरहेको छ । फिक्कलको महादेवडाँडाबाट सदरमुकाम सिन्धुलीमाढीतर्फ आउँदै गरेको बा १५ च ९४२२ नम्बरको बोलेरो दुर्घटना भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेहरु सबैको सनाखत भईसकेको प्रहरीले जानकारी दियो । जसमा फिक्कल गाउँपालिका वडा नं. २ का ५५ वर्षिय तिलमाया वि.क, ६४ वर्षिय कुलमान तामाङ, ३० वर्षिय लक्ष्मी वि.क र ३० वर्षिय अनिता महत रहेका छन भने फिक्कल गाउँपालिका ३ का ३५ वर्षिय सानीमाया श्रेष्ठको पनि सोहि दुर्घटनामा मृत्यु भएको छ ।
मृत्यु भएकामध्ये अनिता महतको खुर्कोटमा उपचारका क्रममा मृत्यु भएको थियो भने अन्य ४ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका सुचना अधिकारी डिएसपी लोकदर्शन थापाले बताए ।
दुर्घटनाको कारण भने खुल्न सकेको छैन । बोलेरो माथिल्लो घुम्तिबाट तल्लो घुम्तिमा २ सय मिटर जति तल झरेको थापाले बताए ।



















