सिन्धुली । हरिहरपुरगढी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णहरि न्यौपानेले स्थानीय सरकार र पत्रकार (सञ्चारकर्मी) एक अर्काका परिपूरक रहेको बताएका छन् । खोज पत्रकारिता तथा फोटो भिडियो पत्रकारिता सम्बन्धि ५ दिने तालिम समापन कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।
उनले जनप्रतिनिधि तथा कर्मचारीले गरेका कामलाई जनता माझ पु¥याउने काम सञ्चारकर्मीले गर्ने र सञ्चारमाध्यमबाट आएका जनगुनासा र सुझावले स्थानीय सरकारलाई सेवा सुधार गर्न सहयोग पुग्ने भएकाले एक अर्काको परिपुरक रहेको बताए ।
उनले स्थानीय तहका गतिविधि, योजना तथा सेवाबारे नागरिकलाई सुसूचित गराउन सञ्चारकर्मीको भूमिका महत्वपूर्ण रहेको उल्लेख गरे । नेपाल पत्रकार महासंघ सिन्धुलीको आयोजना तथा हरिहरपुरगढी गाउँपालिकाको सहयोगमा सञ्चालित तालिमको समापनमा बोल्दै नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष बिमला पाण्डेले गुणस्तरीय पत्रकारिताको विकासमा तालिमले सहयोगी भूमिका खेल्ने बताईन ।
उनले खोजमूलक समाचार, फोटो, भिडियोले पत्रकारिताको गुणस्तरीयता विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताईन । उनले पत्रकारिता गर्दा गहिरो अध्ययन गरी सत्य, तथ्य, निष्पक्षमा आधारित भई पत्रकारिता गर्न आग्रह गरिन् । पत्रकारिता गर्दा सञ्चारकर्मी, पत्रकारहरुमा आउने जुनसुकै समस्यासँग जुध्न महासंघ तयार रहेको समेत उनले बताएकी छिन् ।
उनले स्थानीय तहलाई स्थानीय विज्ञापन नीति बनाउने अधिकार रहेको बताउँदै स्थानीय सञ्चारमाध्यमहरुलाई प्रवद्र्धन गर्न स्थानीय तहहरुलाई आग्रह गरिन् ।
नेपाल पत्रकार महासंघ सिन्धुली शाखाका अध्यक्ष बाबुराम देवकोटाको अध्यक्षतामा भएको समापन कार्यक्रममा सहभागिहरुलाई प्रमाणपत्र समेत वितरण गरिएको थियो । तालिममा नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय अध्यक्ष शिव गाउँले, फोटो पत्रकार पुष्पराज वन्त, सागर श्रेष्ठले प्रशिक्षण दिएका थिए ।























