सिन्धुली । नेपाल एसविआई बैंक घ्याङ्लेख शाखामा मंगलबार साँझ लुटपाट भएको छ । हतियार सहित कालो पोशाकमा आएका लुटेराहरुले सुरक्षा गार्डलाई चक्कु प्रहार गरि घाईते बनाई बैंक लुटपाट गरेको बताईएको छ ।
स्थानीयका अनुसार बैंकबाट लुटपाट गरि बोरामा पैसा लिएर लुटेराहरु भागेका छन् । इलाका प्रहरी कार्यालय बस्तीपुरको टोली घटनास्थलमा पुगेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीको डिएसपी सूर्यप्रकाश सुवेदीको नेतृत्वको टोली घटनास्थल पुगिसकेको छ भने एसपी लालध्वज सुवेदी पनि घटनास्थल तर्फ लागेका छन् ।
बैंकमा कति पैसा लुटपाट भयो भन्ने विषयमा विस्तृत विवरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका एसपी लालध्वज सुवेदीले बताएका छन् । उनले घटना भएको पुष्टि गरेका छन् ।
यस्तै नेपाल एसविआई बैंक सिन्धुलीका प्रमुख प्रज्वल रेग्मीले पनि आफु घटनास्थलतर्फ जाँदै गरेको र घटनाको बारेमा विस्तृत विवरण जानकारी नभएको बताएका छन् ।
बैंकका घ्याङलेख शाखा प्रमुख प्रविण खड्कालाई प्रहरीले सोधपुछ गरिरहेको सूचना प्राप्त भएको छ । घटना भएको तर आफु प्रहरीको सोधपुछमा भएकाले घटनाको बारेमा जानकारी दिन नसक्ने उनले बताएका छन् । सिन्धुलीका प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले पनि घटना भएको तर विस्तृत विवरण आउन बाँकी रहेको बताएकी छिन् ।




















