सिन्धुली । नेपाल कम्युनिस्ट पार्टी (एमाले) जिल्ला कमिटी सिन्धुलीले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्षतर्फका १८ जना आकांक्षीको नाम सिफारिस गरेको छ ।
मंगलबार सिन्धुलीमाढीमा बसेको एमाले सिन्धुलीको आठौं सचिवालय बैठकले दुवै निर्वाचन क्षेत्रबाट सिफारिस भएर आएका उमेदवारहरुको नामावली सिफारिस गर्ने निर्णय गरेको हो । सचिवालयले वर्णानुक्रम अनुसार नाम राखि सिफारिस गर्ने निर्णय गरेको नेकपा एमाले सिन्धुलीका अध्यक्ष महेन्द्रदेव श्रेष्ठले बताए ।
संघिय निर्वाचन क्षेत्र समन्वय कमिटी क्षेत्र नं. १ र २ ले नौ नौ जना आकांक्षीको नाम सिफारिस गरेका थिए । क्षेत्र नं. १ बाट प्रदीप कटुवाल, केदार प्रसाद देवकोटा, गणेश कुमार पहाडी, डम्बर कार्की, ध्रुब कुमार श्रेष्ठ, नारायण अधिकारी दनुवार, डा. वसन्त न्यौपाने, सुवास देवकोटा र सुमित्रा गुरुङ (निलिमा)को नाम सिफारिस भएको थियो ।
क्षेत्र नं. २ बाट मनोजजंग थापा, निरु दर्लामी, उमा कोइराला, कौशल कोइराला, रामकृष्ण श्रेष्ठ, पुष्प श्रेष्ठ, शान्तिमान कार्की, नवराज थिङ र धनजंग थापाको नाम सिफारिस भएको थियो । जिल्ला कमिटीको सचिवालयले वर्णानुक्रम मिलाएर सबैको नाम सिफारिस गरेको हो ।
जिल्ला कमिटी अध्यक्ष महेन्द्रदेव श्रेष्ठको अध्यक्षता एवम् केन्द्रीय सदस्य प्रदीप कटुवालको प्रमुख आतिथ्यतामा सम्पन्न बैठकले पार्टी कार्यालय पुनःनिर्माणको लागि पदाधिकारीहरु र वित्तिय प्रमुख सहितको टिम निर्माण गरेको अध्यक्ष श्रेष्ठले बताए ।





















