सिन्धुली । ३४ औ अन्तरास्ट्रिय अपांगता दिवसको पूर्व सन्ध्यामा सिन्धुलीमाढीमा दीप प्रज्वलन गरिएको छ । लोकतान्त्रिक चोकमा मंगलबार दीप प्रज्वलन गरिएको हो ।
सिन्धुली अपांग महिला संघ सिन्धुली, अपांग कल्याण संघ सिन्धुली, सिन्धुली बहिरा संघ, बौद्धिक अपांगता अभिभावक संघ सिन्धुली र सिन्धुली अपांग संघको संयुक्त आयोजना तथा प्लान ईन्टरनेशनल नेपाल, ह्यान्ड्स नेपाल सिन्धुली र जनजाती समाज विकास कार्यक्रम सिन्धुलीको सहकार्यमा दीप प्रज्वलन गरिएको हो ।
अपांगता समाजको प्रवद्र्धन समाजिक उन्नतिको सम्वद्र्धन भन्ने मुल नाराका साथ कार्यक्रमको आयोजना गरिएको थियो । सिन्धुली अपांग महिला संघका अध्यक्ष दिपा देवकोटाको अध्यक्षता तथा कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोख्रेलको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ, जिल्ला प्रहरी कायाृलय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदी, कमलामाई नगरपालिकाका कर्मचारीहरु, विभिन्न संघसंस्थाका प्रमुख प्रतिनिधिहरु, पत्रकारहरु लगाएको उपस्थिति रहेको थियो ।
दीप प्रज्वलन कार्यक्रमलाई सम्बोधन गर्दै कमलामाई नगरपालिकाका प्रमुख उपेन्द्र कुमार पोख्रेलले अपागता भएका व्यक्तिहरुलाई समाजमा हेर्ने दृष्टिकोण नकारात्मक भएको बताउँदै अपांगता भएका व्यक्तिहरुलाई नहेप्न र समान व्यवहार गर्न आग्रह गरे ।
अपांग महिला संघ सिन्धुलीका अध्यक्ष दिपा देवकोटाले अपांगता भएका व्यक्तिले पनि समाजको हरेक क्रियाकलापमा समावेश हुन सक्ने बताइन् । अपांगता भएका व्यक्तिहरुको अधिकारका लागि सरोकारवाला सबै एकजुट भएर लाग्न आग्रह गरिन ।




















