सिन्धुली । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लामा साविककै मतदान स्थल र मतदान केन्द्र कायम गर्ने निर्णय भएको छ ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिले सरोकारवालासँग छलफल गरि पहिलेकै मतदान स्थल र मतदान केन्द्र सिफारिस गर्ने निर्णय गरेको हो ।
जिल्ला मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवम् प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले साविककै १५१ मतदान स्थल र २६७ मतदान केन्द्र कायम गर्ने गरि निर्वाचन आयोगलाई सिफारिस गरेको हो ।
मतदान स्थलहरुको नाम, ठेगानामा भएको त्रुटीहरु सच्चाएर आयोगलाई सिफारिस गरिने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीका सूचना अधिकारी अस्मिता लुंगेलीले बताएकी छिन् ।
यस्तै आगामी निर्वाचनमा कार्तिक १६ गतेसम्म प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ बाट १ लाख ७ हजार २ सय ८१ जना मतदाता सहभागी हुनेछन् भने प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ बाट १ लाख १ हजार १ सय ३४ जना मतदाताले मतदान गर्न पाउनेछन् ।
बैठकमा बोल्दै प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले निर्वाचन हुनेमा कुनै शंका नलिन र जिल्ला, पालिकादेखि वडासम्मका जनप्रतिनिधिहरु, कर्मचारीहरु लगाएत सबैले निर्वाचनमा सहयोग गर्न आग्रह गरेकी छिन् । उनले सुरक्षाको अनुभूति हुने गरि निर्वाचन गरिनेमा ढुक्क रहन समेत अनुरोध गरेकी छिन् ।
यस्तै बैठकमा बोल्दै जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुबेदीले सरकारले चुनाव गराउँछु भने पछि सुरक्षाको अनुभूति गराउने जिम्मेवारी रहेको बताएका छन् ।
सुरक्षाका लागि आफुहरु तयार रहेको उनले बताए । यसैबीच जिल्ला सुरक्षा समितिले जिल्लाका नौ वटै पालिकामा रहेका मतदान स्थलहरुको सुरक्षा व्यवस्थाको बारेमा जानकारी लिन फिल्डमै पुग्न थालेको छ । यहि क्रममा मंगलबार घ्याङलेख गाउँपालिकामा जिल्ला सुरक्षा समितिको टोलीले अनुगमन तथा छलफल गरेको छ ।





















