सिन्धुली । बुधबारदेखि जारी कमलामाई नगरस्तरीय अन्तरमावि क्रिकेट प्रतियोगिताको उपाधि भगवती अंग्रेजी आवासीय माध्यामिक विद्यालय माढी बजारले जितेको छ ।
भगवती बालक्लबको आयोजनामा सिन्धुलीमाढीको खुलामञ्चमा भएको दोश्रो सिरिजको खेलमा भगवती माविले जनज्योति मावि फोस्रेटारलाई १३ रनको फराकिलो अन्तरले जितेको छ । टस जितेर पहिला ब्याटिङ रोजेको जनज्योतीले ५७ रनको लक्ष्य दिएको थियो भने भगवतीले ८.४ बलमा ६ विकेटले जित हात पारेको थियो ।
भगवतीले पहिलो सेरिज पनि १३ रनको फराकिलो अन्तरले जनज्योती माविलाई हराएर उपाधि हात पारेको थियो । यस पटक पनि दुवै टिमको प्रतिस्पर्धा भएको थियो ।
खेलमा नगरपालिका भित्रका ८ विद्यालयका ८ टिमको सहभागिता रहेको थियो । खेल सकिएसँगै पुरस्कार वितरण गरिएको छ । भगवती माविका प्रमुख कार्यकारी अधिकृत कृष्णकुमार उप्रेतीले विद्यार्थीलाई खेलप्रति रुचि जगाउने, स्वस्थ र स्फुर्त बनाउन खेल महत्वपूर्ण रहेको बताए ।
उक्त अवसरमा प्रतियोगितामा प्रथम हुने भगवती अङ्ग्रेजी आवासीय माध्यमिक विद्यालयले नगद ११ हजार सहित ट्रफि, मेडल र प्रमाणपत्र पाएको छ भने दोस्रो भएको जनज्योती माध्यमिक विद्यालय फोस्रेटारले ७ हजार नगद सहित प्रमाणपत्र प्राप्त गरेको छ ।




















