सिन्धुली । भोली (मंसिर १ गते) देखि दुधौली नगर अस्पतालको आकस्मिक सेवा बाहेकका अन्य सेवाहरु अनिश्चिितकालका लागि बन्द हुने भएका छन् । अस्पतालमा कार्यरत मेडिकल अधिकृतहरुले अस्पतालको सेवा बन्द गर्ने निर्णय गरेका हुन ।
चिकित्सकहरुको नियमित सेवा, जोखिम, जिम्मेवारी र कार्यसम्पादन सम्बन्धि ६ बुँदे माग राख्दै उनीहरुले अस्पतालका सेवा बन्द गर्न लागेका हुन् ।
जनप्राक्टिस भत्ता, सर्पदंश उपचार भत्ता, प्रोत्साहन भत्ता, महंगी भत्ता उपलब्ध गराउन, खाना तथा खाजा यथाशिघ्र उपलब्ध गराउन र गत वर्षको ओभरटाईम ड्युटीको बाँकी बक्यौता तुरुन्त निकासा गर्न माग गर्दै चिकित्सकहरु आन्दोलनमा उत्रेका हुन् ।
अस्पतालमा कार्यरत डाक्टरहरु रमा खपांगी, मन्दीप अधिकारी, सन्तोष पञ्जियार, पुरुषोत्तम बराल, हिमाल गौतम, मनिष कार्कीले आन्दोलनको घोषणा गरेका हुन् । उनीहरुले असोज २३ गते आफ्ना मागहरु अस्पताल प्रशासन समक्ष राखेको थियो ।
उक्त मागहरु पुरा नभएपछि डाक्टरहरु आन्दोलनमा उत्रने भएका हुन् । आन्दोलनका कारण पर्न जाने असुविधाको जिम्मेवारी अस्पताल प्रमुख, अस्पताल प्रशासन र अस्पताल व्यवस्थापन समिति हुने समेत उनीहरुले जनाएका छन् ।
आफुहरुका जायज मागहरु वारम्बार वेवास्ता गरि अल्झाउने, झुक्याउने, झुटो आश्वासन देखाई माग पुरा नगर्ने गरेकाले आन्दोलनमा उत्रन बाध्य भएको डाक्टरहरुले नगर अस्पताललाई दिएको पत्रमा उल्लेख गरिएको छ ।





















