एकजना अभियुक्त फरार
हत्या आरोपमा पक्राउ परेका सूर्य बहादुर कामी बालिका बलत्कार आरोपमा मुछिएका व्यक्ति
विवाहेत्तर सम्बन्ध हत्याको मुख्य कारण : प्रहरी
सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. २ पहिरेकी ४० वर्षिय छत्र कुमारी कार्की (थापा) को हत्याको कारण विवाहेत्तर सम्बन्ध रहेको पाईएको प्रहरीले जनाएको छ । घटना विवरण सार्वजनिक गर्न गरिएको पत्रकार सम्मेलनमा प्रहरीले उक्त कुरा खुलासा गरेको हो । छत्र कुमारीको हत्यामा संलग्न रहेका दुई जनालाई पक्राउ गरिएको पनि पत्रकार सम्मेलनमा जानकारी दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुलीले विहिबार कार्यालयमा पत्रकार सम्मेलन गरि हत्यामा संलग्न दुई जनालाई पक्राउ गरिएको जनाएको हो । एक जना अभियुक्त अझै फरार रहेका छन् । छत्रकुमारीको एकै परिवारभित्रका तीन जनाले हत्या गरेको खुलेको छ । घाँटीमा सल कसेर हत्या गरिएको अनुसन्धानमा खुलेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीले जानकारी दिए ।
सुवेदीले हत्यामा संलग्न रहेका दुधौली नगरपालिका वडा नं. १३ का ३१ वर्षिय सुरज भन्ने सूर्य बहादुर कामी र उनकै भाञ्जा दुधौली नगरपालिका वडा नं. १३ का २० वर्षिय टंक बहादुर कामी पक्राउ गरेको जानकारी दिएका छन् । सुर्य बहादुरलाई दाङको लमही बसपार्कबाट र टंक बहादुरलाई दुधौली नगरपालिका वडा नं. ९ बाट नियन्त्रणमा लिएको सुवेदीले बताएका छन् ।
सुर्य बहादुरले नियन्त्रणमा लिएको छत्र कुमारीको मोवाईल समेत प्रहरीले बरामद गरेको छ । सुर्य बहादुरलाई सिन्धुली अदालतबाट ७ दिनको म्याद लिई अनुसन्धान सुरु गरिएको सुवेदीले जानकारी दिए ।
छत्र कुमारीको कार्तिक १७ गते हत्या भएको प्रहरीले जनाएको छ । १७ गतेदेखि हराएकी उनको शव मृत अवस्थामा कार्तिक २१ गते तिनपाटन गाउँपालिका वडा नं. १ बेलघारीको झोलुंगे पुल नजिकै रहेको सिसौ घारीमा भेटिएको थियो । छत्र कुमारी घरबाट हराएपछि इलाका प्रहरी कार्यालय बेलघारीमा तिलक बहादुर लकाईले खोज तलासका लागि कार्तिक १८ गते नै निवेदन दिएका थिए ।
इलाका प्रहरी कार्यालय बेलघारीको झण्डै ३ सय मिटर दुरीमा उनको हत्या भएको थियो । हत्या दिउँसोको समयमा भएको एसपी सुवेदीले बताएका छन् । विवाहेत्तर सम्बन्धका कारण उनको हत्या भएको सुवेदीले जानकारी दिए । ‘हत्या गर्नुको अन्य कारण देखिंदैन’, उनले भने । पोष्टमार्टम प्रतिवेदनमा समेत ‘स्ट्यांगुलेसन’ अर्थात निसास्सिएर मरेको देखाएको सुवेदीले जानकारी दिएका छन् ।
क्षतविक्षत अवस्थामा शव भेटिएको भए पनि मार्नेहरुले हतियार वा कुनै वल प्रयोग गरेर अंगभंग गराएको शव परिक्षण प्रतिवेदनमा नदेखिएको सुवेदीले जनाएका छन् । महिलाको अंगहरु क्षतविक्षत जंगली जनावरहरुले गरेको हुन सक्ने उनले बताएका छन् । पक्राउ परेका मुख्य अभियुक्त सुर्य बहादुर कामीले सलले घाँटी बाँधेर हत्या गरेको स्वीकार गरेको पनि सुवेदीले जानकारी दिएका छन् ।
यस कारण भयो हत्या
छत्र कुमारीको हत्या गराउने योजना सहित हत्यामा संलग्न टोली काठमान्डौबाट बर्दिबास हुँदै सिन्धुली आएको थियो । उनीहरु कार्तिक १६ गते नै वर्दिबास आएर होटलमा बास बसेका थिए । कार्तिक १७ गते बिहान ७ बजे नै उनीहरु सिन्धुली हुँदै बेलघारी गएका थिए । बेलघारीमा पुगेर सुरजले ‘लुगा ल्याईदिएको छु लिन आउनु’ भनि फोन गरेर बोलाएर छत्रकुमारीको हत्या गरेको पाईएको एसपी सुवेदीले बताएका छन् ।
केहि समय अघि सुर्य बहादुरसँग तिनपाटन जाने बेलामा गाडीमा चिनजान भएको र सोहि बेला फोन नम्बर आदान प्रदान गरेको, त्यसपछि फोनमा निरन्तर कुराकानी र भेटघाट भईरहेको पनि अनुसन्धानमा खुलेको छ । सुर्य र छत्रकुमारीको विवाहेत्तर सम्बन्ध उसकी श्रीमतिले थाहा पाएपछि भएको वादविवादपछि हत्यासम्मको योजना बनेको पाईन्छ ।
अनुसन्धानमा विवादका क्रममा छत्रकुमारीले बलत्कारको मुद्दा दिने भनेपछि उनको हत्याको योजना बनेको देखिएको प्रहरीले जनाएको छ । हत्यापछि तीनै जना फरार रहेका थिए । छत्र कुमारी हत्या अभियोगमा पक्राउ परेका सूर्यबहादुर २०७९ मंसिर १८ गते फिक्कलकी १६ वर्षिय बालिका बलत्कार गरेको आरोपमा जेल समेत परेका व्यक्ति हुन् ।





















