सिन्धुली । तीनपाटन गाउँपालिका वडा नं. १ बेलघारीमा रहेको झोलुङ्गे पुलको करीब सय मिटर नजिकै कार्तिक २१ गते एक महिलाको शव भेटियो । शव थियो तीनपाटन गाउँपालिका वडा नं २ पहिरेकी ४० वर्षिय छत्रकुमारी कार्की (थापा) को ।
घाँस काट्न गएका स्थानीयले चँदाहा नदी नजिकैको घारीमा महिलाको शव क्षतविक्षत तथा कुहिएर किरा परेको अवस्थामा भेटाएपछि प्रहरीलाई खबर गरे । विडम्बना त के भने करीब ३ सय मिटर नजिक रहेको इलाका प्रहरी कार्यालय बेलघारीले उक्त घटना महिला हराएको पाँचौ दिनसम्म सुईको समेत पाएन । जुन घटना अहिले इलाका प्रहरीको लागि नै चुनौती बनिरहेको छ ।
प्रहरीले दाहिने हातका तीनवटा औंला काटिएको, पाठेघर बाहिर निकालिएको, घाँटीमा सलले कसिएको, सोहि सलले मुख छोपिएको, एउटा स्तन काटिएको अवस्थामा छत्रकुमारीको शव भेटिएपछि अनुसन्धान सुरु ग¥यो ।
अनुसन्धानमा जिल्ला प्रहरी कार्यालय सिन्धुलीको अपराध अनुसन्धानको टिम खटियो । अनुसन्धान टिमले कार्तिक १७ गतेदेखि हराएकी छत्रकुमारीको हत्या सोहि दिन दिउँसो एकदेखि दुई बजेको बीचमा नै भएको पत्ता लगाएको छ । हत्याको रहस्य पत्ता लगाउन नेपाल प्रहरी अनुसन्धानमा अगाडि बढ्यो ।
प्रहरीले उक्त घटनामा संलग्न रहेका मुख्य अभियुक्त एक जनालाई पक्राउ गरेको छ । अनुसन्धानमा प्रभाव पर्ने भन्दै प्रहरीले पक्राउ परेका व्यक्तिको पहिचान खुलाउन चाहेको छैन । उनलाई दाङबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । अन्य दुई जना फरार छन् । एकै परिवारका तीन जना मिलेर महिलाको हत्या गरिएको अनुसन्धानमा खुलेको छ ।
हत्यामा एक महिला, दुई जना पुरुष गरि तीन जनाको संलग्नता भएको र अनुसन्धान नसकिएकाले र फरार अभियुक्त भाग्न सक्ने भन्दै प्रहरीले सूचना दिन इन्कार गरेको छ । तर हत्यामा संलग्न एक जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले पुष्टि गरेको छ । जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी सूर्य प्रकाश सुबेदीले भने, ‘हत्याको रहस्य नजिक प्रहरी पुगेको छ, अनुसन्धानमा प्रभाव पर्न सक्छ । अनुसन्धान सकिएपछि सार्वजनिक गर्छौं ।’
महिलाको शवको पोष्ट मार्टम कार्तिक २१ गते नै सिन्धुली अस्पतालमा गरिएको थियो । पोष्टमार्टम पछि उनको अन्तिम संस्कार गरि सकिएको स्थानीयले जानकारी दिएका छन् । घटनाका समयमा मृतकका श्रीमान, सासु, ससुरा भारतमा बस्दै आएका थिए । उनी तीन छोराहरुसँगै घरमा बस्दै आएकी थिईन् । मध्य दिउँसो नै प्रहरीकै इलाकामा हत्या हुनुले स्थानीयहरुमा भने त्रास फैलिएको छ ।




















