सिन्धुली/ओरेक नेपालको साझेदारी तथा प्लान नेपालको सहयोगमा सञ्चालित साहारा किशोरी समूहको कामको मुल्यांकन तथा अनुगमन गरिएको छ । कमलामाई नगरपालिका सिन्धुलीका उपमेयर मञ्जु देवकोटा, पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डे, नेपाल बार एशोसियसनका सुशिला थिङ, ओरेक नेपालका सपना थापा, शुशिला काफ्ले लगाएतको टोलीले किशोरी समूहले गरेका कामको अनुगमन तथा मुल्यांकन गरेको हो ।
शनिबार कनपा १३ मा साहारा किशोरी समूहले आयोजना गरेको कार्यक्रममा समेत टोली सहभागि भएको छ । समूहका किशोर किशोरीहरुले लैंगिक हिंसा विरुद्ध तथा बालविवाह विरुद्धमा गरेको कार्यक्रम, सडक नाटक तथा अन्य कार्यक्रम र उनीहरुको बुझाईको स्तरलाई टोलीले मुल्यांकन गरेको छ ।
यस्तै किशोरीहरुको प्रस्तुति, बोल्ने शैली, नेतृत्व विकास र लैंगिक हिंसा र दुव्र्यवहार विरुद्धको कानुनी ज्ञानलाई मुल्यांकन गरिएको हो । किशोरीहरुले गरेका कार्यक्रमको मुल्यांकन गर्दै कमलामाई नगरपालिका सिन्धुलीका उपमेयर मञ्जु देवकोटाले किशोरीहरुको क्षमता विकासका लागि नगरले बजेट छुट्याउने गरेको बताउँदै यस्ता सक्रिय समूहसँग सहकार्य गर्न सकिने बताइन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ सिन्धुलीका उपाध्यक्ष बिमला पाण्डेले कार्यक्रममा देखिएका राम्रा पक्ष र सुधार गर्नुपर्ने पक्षको विश्लेषण गर्दै किशोरीहरुले समाज परिवर्तन र मानवअधिकार संरक्षणमा खेलेको भूमिकालाई सह्राना गरिन । उनले काम गर्दै जाँदा हुने केहि कमीलाई सुधार गर्दै जाँदा निखारता आउनेमा विश्वास व्यक्त गरिन । उनले किशोर किशोरीको प्रतिभा र बुझाईको स्तर उच्च रहेकोमा प्रशंसा समेत गरिन ।
कार्यक्रममा बोल्दै नेपाल बार यशोसियसनका प्रतिनिधि शुशिला थिङले किशोर किशोरीको प्रतिभालाई संरक्षण र सहयोगको खाँचो रहेको औल्याईन । किशोर किशोरीले बालविवाह, लैंगिक हिंसा, बहुविवाह, बेचविखन लगाएतमा प्राप्त ज्ञानले समाज परिवर्तन गर्न सक्ने विश्वास व्यक्त गरिन ।





















