सिन्धुली । शक्ति समूहले शुक्रबार सिन्धुलीमाढीमा संस्थाले गरेका कामको समिक्षा तथा आगामी कार्ययोजनाका लागि सुझाव संकलन गरेको छ । शक्ति समूहले एक वर्षमा गरेका काम र त्यसको समिक्षा तथा आगामी वर्षका लागि कार्यक्रम गर्ने विषयमा सुझाव संकलन समेत गरेको हो ।
समूहका अध्यक्ष बालकुमारी रानाको अध्यक्षता तथा जिल्ला समन्वय समिति सिन्धुलीका प्रमुख शंकरराज वर्मा तिवारीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा विभिन्न संघसंस्थाका प्रमुख तथा प्रतिनिधिले सुझाव दिएका थिए ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका प्रमुख शंकरराज बर्माले मानव वेचविखनको जिल्लाको खाकाबारे शक्ति समूहले प्रस्ट गरि समन्वयात्मक तवरले काम गर्न आग्रह गरे । कानुन कार्यान्वयनका निकाय र यसका बाधक पक्षलाई समेत कार्यक्रममा सहभागि बनाएर लान आग्रह गरे ।
कार्यक्रममा शक्ति समूहका कार्यकारी निर्देशक सुनिता दनुवारले मानव बेचविखनको रोकथाम, उद्धार तथा पुनस्र्थापनामा सरकार उदासिन रहेका कारण काम गर्न समस्या भएको बताईन । सरकारले उचित कानुन निर्माण गर्न नसक्दा काम गर्न असहज भएको बताईन । उनले संघियतामा भएको अन्यौलता र तरलताले काम गर्न असहज भएको बताउँदै सहज वातावरणका लागि सबैको पहल जरुरी रहेको बताईन ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघका उपाध्यक्ष विमला पाण्डेले बेचविखनका रुप फेरिदै गएकाले मानव वेचविखन विरुद्ध फरक तरिकाले काम गर्न आवश्यक रहेको बताईन । उनले श्रमका नाममा हुने यौन शोषण र बेचविखन देशभित्र धेरै नै हुन थालेको बताईन ।
कार्यक्रममा बोल्दै गैसस महासंघ सिन्धुलीका रमेश भुजेलले जागिरका नाममा सामुहिक ओसारपसार रोक्न आवश्यक रहेको बताए । यस्तै अधिकारकर्मी सविता कोइरालाले बैदेशिक रोजगारीका नाममा परिवन्धमा पारि बेचविखन भएको तर्फ सरकार तथा अन्य सरोकारवालाको ध्यान जान जरुरी रहेको बताईन । कार्यक्रममा महिला मानवअधिकार रक्षक सञ्जालका अप्सरा खड्का, ओरेक नेपालका सपना थापा, रिलिफ नेपालका विजय दाहाल लगाएतले सुझाव दिएका थिए ।





















