रोहित गुरुङ
दुधौली/दुधौली बजारका ९ वर्षिय वियोग सदा सधैजसो बस र ट्रकबाट सकि नसकी सामान बोकिरहेका हुन्छन । गौरी शंकर प्रा.वि.को कक्षा ४ मा अध्यनरत उनको विहान बेलुका र विदाको दिनको दैनिकी त्यहि हो । उनी जस्तै उनका उमेरका साथिहरु पनि यसरी शरीरले नसक्ने भारी बोकिरहेका हुन्छन ।
केहि दिन अघि दुधौली बजार स्थित राजकुमार महत्वको खाद्यान्न गोदाममा सामान ओसार्दै गर्दा केहि बालबालिकाको उद्धार गरियो । कमलामाई आवसिय ईङलीस वोर्डिङ स्कुलमा अध्यनरत रोयल बाल क्लवका बालबालिका, पत्रकार , उद्योग वाणिज्य संघ दुधौलीका अध्यक्ष वृज नारायण शाह, विभिन्न राजनैतिक दलका प्रतिनिधि, नगर प्रहरीहरुको श्रमिक बालबालिकाको उद्धार गरेको हो । उद्धार टोलीले महतोलाई बालबालिकालाई काम नलगाउन भन्दै अन्तिम पटक सुध्रिने मौका पनि दियो ।
तर नगर क्षेत्रका ठूला ठूला पसल, होटल तथा सवारी साधनमा भारी बोक्ने, गाडी धुने लगाएतका काममा दुधौलीमा बालबालिकाले नै काम गरिरहेको पाइन्छ । बजार क्षेत्रमा आउने अधिकांश निर्माण सामग्री बोक्ने बालबालिका नै देखिन थालेका छन ।
यसरी श्रम गर्न आउनेमा दुधौली नगरपालिकाका मुसहर र दलित समुदायकाका बालबालिका बढी छन । यस्ता दृष्य दुधौली नगरापालिकाको केन्द्र दुधौली बजामा धेरै देखिन्छ ।
कतिपय बालवालिकाहरु विद्यालय नगई श्रम गर्ने गरेका छन् भने कतिपय विद्यालय जाने तर वीचैमा भागेर श्रम गर्ने गरेका छन् । बालवालिकाहरुलाई यसरी प्रयोग गरेर थोरै पैसा दिने र कतिपय व्यापारीहरुले काम लगाई चकलेट लगाएतका खानेकुरा दिने गरेको श्रमीक वालवालिकाहरु बताउँछन् ।
‘हामीले काम नगर भन्छौं, तर बालबालिकाले काम देउ भनेर जवर्जस्ती गर्छन,’ स्थानीय व्यापारी राजकुमार महतोले भने । यसरी बालश्रमिकहरु बढीरहँदा समेत नगरपालिकाले कुनै चासो देखाएर काम गर्न सकेको छैन । नगरपालिकाले चेतावनी दिएको जनाए पनि बालश्रम न्युनिकरणका लागि कुनै ठोस कार्यक्रम तय भने गरेको छैन । नत नगरपालिकासँग बालश्रमिको तथ्यांक छ न कुनै ठोस नीति र कार्ययोजना ।




















