सिन्धुली/कमलामाई नगरपालिका सिन्धुलीले बालविवाह न्युनिकरणका लागि रणनीतिक कार्ययोजना बनाउने भएको छ । कार्ययोजना निर्माणका लागि ओरेक नेपालले सहजीकरण गरिरहेको छ । शुक्रबार सिन्धुलीमाढीमा उक्त कार्ययोजनामा सुझाव संकलनका लागि सरोकारवालासँग छलफल गरिएको छ ।
बालविवाह न्युनिकरणका लागि जिल्लामा क्रियाशिल नागरिक समाजका अगुवाहरु, पत्रकारहरु, शिक्षक तथा विभिन्न सरोकारवालासँग छलफल गरिएको हो । ओरेक नेपालको सहजीकरण तथा कमलामाई नगरपालिकाको सिन्धुलीको आयोजनामा उक्त सुझाव संकलन गरिएको हो ।
सुझाव संकलन तथा छलफलका क्रममा बालविवाहका कारण, परिणाम र अवको कार्ययोजनाका बारेमा छलफल भएको थियो । बालविवाह न्युनिकरणका लागि नगरपालिकाले कानुन र नियम बनाई अगाडि बढ्न सुझाव दिईएको छ । यस्तै वडा वडामा बालविवाह न्युनिकरणका कार्यक्रम लानुपर्ने, बालविवाह बारे स्कुल तथा क्याम्पसहरुमा चेतना जगाउने, संस्कार परिवर्तनका लागि धर्मगुरुहरुसँग समन्वय गरि अभियान चलाउनुपर्ने, बालविवाहलाई दण्डित गर्न सबैले सहयोग गर्ने, सूचक तथा सूचना र सञ्चारका माध्यमबाट अभियान सञ्चालन गर्नुपर्ने लगाएतका सुझाव आएका थिए ।
यस्तै अविभावकलाई बालविवाहका असरबारे सचेत गराउनुपर्ने, मोवाईल तथा सामाजिक सञ्जाल सदुपयोग गर्न सिकाउने, अविभावकलाई आयआर्जनसँग जोड्ने लगाएतका काम गर्नुपर्ने सुझाव आएको छ । कार्यक्रममा कनपाका अधिकृत सागरकुमार ढकालले नगरपालिकाले तयार गरेको कार्ययोजनाको मस्यौदा प्रस्तुत गरेका थिए भने कार्यक्रमको सहजीकरण ओरेकका सपना थापाले गरेकी थिइन ।




















