सिन्धुली । लागु औषध सेवन गरि गाडी चलाएका सवारी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । कमलामाई नगरपालिका वडा नं. ९ भिमान बसपार्कमा गरिएको लागु औषध सेवनको चेकजाँचका क्रममा लागु औषध सेवन गरि सवारी चलाउने ६ जना चालकलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
विपी राजमार्ग र मदनभण्डारी राजमार्गमा चल्ने सवारी साधनका चालकहरुलाई विहिबार लागु औषध सेवनको जाँच गरिएको थियो ।
पक्राउ पर्नेमा सिन्धुलीबाट बर्दिबासतर्फ जाँदै गरेको म.प्र.०४–००१ क ००३२ नम्बरका ट्रक चालक जिल्ला सिन्धुली क.न.पा. ४ का २८ वर्षिय सन्तोष अछामी, जनकपुरबाट सिन्धुलीतर्फ जाँदै गरेको बा३ख४९८० नम्बरका बस चालक धनुषाको जनकपुर उपमहानगरपालिका २३ का ४७ वर्षिय विजय कुमार ठाकुर, जनकपुरबाट कटारीतर्फ जाँदै गरेको बा४ख ३८८९ नम्बरको टिफर चालक उदयपुरको कटारी नगरपालिका ४ का २७ वर्षिय विमल तामाङलाई नियन्त्रणमा लिएको छ ।
त्यस्तै दुधौलीबाट सिन्धुलीतर्फ जाँदै गरेको बा२ ख ५९६१ नम्बरको बस चालक दुधौली नगरपालिका वडा नं. ९ का ५४ वर्षिय शंकर तामाङ, महेन्द्रनगरबाट कटारीतर्फ जाँदै गरेको बा२ख७२१४ नम्बरको टिफर चालक दुधौली नगरपालिका १४ का २३ वर्षिय पदम बहादुर कार्की, रौतहटको चपुरबाट कटारीतर्फ जाँदै गरेको बा४ख६५ नम्बरको बस चालक महोत्तरीको बर्दिबास नगरपालिका वडा नं. ३ का ३० वर्षिय लक्ष्मण भण्डारीलाई नियन्त्रणमा लिइएको डिएसपी सूर्यप्रकाश सुवेदीले जानकारी दिए । नियन्त्रणमा लिईएका चालकहरुलाई इलाका प्रहरी कार्यालय भिमान ल्याई थप अनसन्धान थालिएको सुवेदीले बताए ।
जिल्ला प्रशासन कार्यालय सिन्धुलीको अगुवाईमा भिमान बसपार्कमा भएको लागु औषध परिक्षणमा प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसाल, जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख एसपी लालध्वज सुवेदीको नेतृत्वमा जनस्वास्थ्य कार्यालय सिन्धुलीबाट खटिएको स्वास्थ्यकर्मी टोली, जिल्ला ट्राफिक प्रहरी सिन्धुली तथा इलाका प्रहरी कार्यालय भिमानको टोलीले विपी राजमार्ग र मदनभण्डारी राजमार्गमा चल्ने ७४ वटा सवारी साधनहरुका चालकहरुको लागुपदार्थ सेवनको जाँच गरेको थियो । प्रहरीले सडक दुर्घटना रोकथाम तथा न्युनिकरण सम्बन्धी सचेतना सन्देश समेत दिएको छ ।





















