सिन्धुली । जिल्लामा लैंगिक हिंसा अत्यधिक भईरहेको एक तथ्यांकले देखाएको छ । लैंगिक हिंसासँगै मानसिक हिंसा समेत अत्यधिक रहेको एकद्धार संकट व्यवस्थापन केन्द्र (ओसिएमसि) को तथ्यांकले देखाएको हो ।
ओसिएमसीका सदस्य सचिव एवम सिन्धुली अस्पतालका निमित्त निर्देशक डा.अभिशेष थपलियाले जिल्लामा एघार महिनामा २ सय ८८ वटा लैंगिक हिंसाका घटना भएको जानकारी दिएका छन ।
डा. थपलियाले बलत्कारका २९, यौन दुव्र्यवहारका ७, शारीरिक हिंसा ४८, बालविवाह १, श्रोत साधनबाट बञ्चित ५६, मानसिक हिंसा १४७ वटा घटना केन्द्रमा आएको बताए । उनले ती घटनामा केन्द्रले सेवा दिएको बताएका छन ।
उनका अनुसार जिल्लामा मानसिक हिंसाको अवस्था र आर्थिक हिंसाको अवस्था डरलाग्दो रहेको बताए । लैंगिक हिंसाबाट महिलाहरु अत्यधिक प्रभावित छन । यो अवधिमा २८० जना महिला हिंसाबाट पीडित भएका छन भने ८ जना पुरुष प्रभावित छन ।
लैंगिक हिंसाबाट विवाहित महिलाहरु बढी प्रभावित छन । २२० जना विवाहित महिलाले एघार महिनामा हिंसा भोगेर ओसिएमसिमा आएका छन । अविवाहित महिला तथा बालिकाहरु ४९ जना र वैवाहिक अवस्था नखुलेका ११ जना प्रभावित छन ।
ओसिएमसीको तथ्यांक अनुसार कमलामाई नगरपालिकामा सबैभन्दा बढी हिंसाका घटना भएका छन । कमलामाई नगरपालिकामा ७८ जना, दुधौली नगरपालिकामा ५५ जना, मरिण गाउँपालिकामा ३६ जना, तीनपाटन गाउँपालिकामा ३३ जना, हरिहरपुरगढी गाउँपालिकामा २३ जना, गोलञ्जोर गाउँपालिकामा १५, घ्याङलेखमा १३, सुनकोशी गाउँपालिकामा १४ र फिक्कल गाउँपालिकामा १३ जना र अन्य स्थानबाट आएका ८ जना प्रभावित रहेका छन ।





















